नेपालका धेरै कम बहुआयामिक व्यक्तिमध्येमा पर्ने एक व्यक्ति हो, ‘डाक्डर हर्क गुरुङ ।’ जो एक लेखक, शिक्षक, अध्येता, भूगोलविद्, विकासविद्, योजनाकार, मन्त्री, चित्रकार, खेलाडी, हिमालवेत्ता, पर्वतारोही, फोटोग्राफर, प्रशासक, अल्पसंख्यक र सीमान्तकृतका प्रवक्ता तथा आदिवासी जनजाति अधिकारकर्मी, सशक्त र स्पष्ट वक्ता, सल्लाहकार, चिन्तक हुनुहुन्थ्यो । उहाँ अर्थात् डाक्डर हर्क गुरुङका अनुसार नेपालमा ५,००० मिटरभन्दा अग्ला हिमाल (हिम रेखाभन्दा माथि) १,७०० वटाभन्दा केही बढी संख्यामा रहेको भनी बताउने गर्नुहुन्थ्यो, भन्ने गर्नुहुन्थ्यो ।
यसरी नेपालमा रहेका ५,००० मिटरभन्दा अग्ला हिमाल (हिम रेखाभन्दा माथिका) हिमाल जो छन्, १,७०० वटाभन्दा केही बढी, ती मध्ये नेपाल सरकारले पटकपटक गरेर ४७६ वटा हिमाल आरोहणका लागि खुल्ला गरेको छ भने, केही हिमाल पहिले खुल्ला गरेर पनि पछि पुनः आरोहण गर्न नपाउने (बन्द) गरेको छ । हो, त्यसरी नेपाल सरकारले स्वदेशी तथा विदेशी पर्वतारोहीका लागि आरोहण गर्न निषेधित गरिएका केही हिमालमध्येको एक हो, ‘माछापुच्छ्रे हिमाल ।’ जुन हिमालको उचाइ छ हजार नौ सय त्रियानब्बे (६,९९३) मिटर रहेको छ । माछापुच्छ्रे हिमाल हालको नेपालको प्रशासनिक विभाजनअनुसार गण्डकी प्रदेशको कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पर्छ भने, सो हिमाललाई अंग्रेजी भाषामा फिसटेल+म्याटर्नहर्न ! भनिन्छ । त्यस्तै गुरुङ आदिवासीले चाहिँ ‘कतासुँ क्लिको’ (विकिपेडियाअनुसार) भनी पुकार्छन् । नेपाली भाषामा भने ‘माछापुच्छ्रे’ भइहाल्यो अनि अंग्रेजी भाषामा फिसटेल । एवं प्रकारले स्वीसहरू चाहिँ यो हिमाललाई ‘म्याटर्न हर्न ’भन्छन् ।
अब लागौं, साँच्चै सुरुदेखि नै माछापुच्छ्रे हिमाल आरोहण गर्न नेपाल सरकारले निषेधित गरेको थियो त ? भन्ने सम्बन्धमा जानकारी लिनेतर्फ । यो विषयमा हामीले आम जनताबीच व्यापक रुपमा छलफल र बहस गर्नुपर्ने देखिन्छ । किनभने, इतिहास हेर्दा/पढ्दा सर्वप्रथम सन् १९५६ मा माछापुच्छ्रे हिमाल आरोहण गर्ने बाटो खोज्ने काम विदेशी पर्वतारोहीहरूले गरेका थिए । संभवतः उनीहरू बेलायती टोली रहेका थिए । स्रोतः डाक्टर हर्क गुरुङद्वारा लिखित विषय विविध पाना–८६ । सो टोलीले बाटो खोज्दै जानेक्रम (माछापुच्छ्रे आधार शिविर जाने बाटो) मा सो बेला ‘पञ्चेनीवराह’ नजिकको तोमोँखर्कभन्दा माथि दलित जातका मानिस, कुखुरा र सुँगुरको मासु आदि लैजान नपाउने बन्देज थाहा भयो । त्यसैकारण सो माथिका ठाउँलाई ‘अन्नपूर्ण सेङचुरी’ नामाकरण गरे, बेलायती टोलीले ।
गुरुङले लेखेअनुसार सोही बेलायती टोलीले नै सन् १९५७ मा माछापुच्छ्रे हिमाल आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौंस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयसको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ भनी गुरुङले आफ्नो लेखमा थप प्रस्ट्याउँदै लेखेका छन् ।
हुन पनि सन् १९८३ मा तत्कालीन श्री ५ को सरकारले गठन गरेको विदेशी नामाकरण भएका चुलीहरूको नेपाली नामकरण गर्ने समितिको संयोजक गुरुङ स्वयं रहेका थिए । त्यसैले गुरुङले सोही लेखमा पुनः लेखेका छन्, ‘सन् १९८३ मा विदेशी नाउँ भएका चुलीहरूको नेपाली नामकरण गर्ने समितिको संयोजकको रुपमा म मोदीखोलाका गाउँहरू घुमेँ । हिमचुलीहरूको स्थानीय नाउँ त फेला परेन, तर अन्य सांस्कृतिक तथ्य पत्ता लागे ।’
सन् १९५६ मा माछापुच्छ्रे हिमाल चढ्ने बाटो खोज्न गएकै टोलीले सन् १९५७ मा माछापुच्छ्रे आरोहणको प्रयास गर्यो । सो बेलायती पर्वतारोही टोली माछापुच्छ्रे हिमालभन्दा केवल ४५ मिटरमुनी पुग्दा हिमपात भएका कारण असफल भए । सो आरोहण टोलीका नेता कर्नेल जिमी रोबर्ट काठमाडौँस्थित बेलायती राजदूतावासमा कार्यरत कूटनीतिज्ञ हुनुका साथै पदयात्रा उद्यमका अगुवा पनि थिए । आफूले चढ्न नसकेको चुलीमा अरु नगए हुन्थ्यो भन्ने उनको व्यक्तिगत भावना हुनु स्वाभाविक हो, जुन सो टोलीका सदस्य पर्वतारोही कवि विल्फ्रिड नोयसको किताब ‘क्लाइम्बिङ दि फिसेज टेल (सन् १९५८)’ बाट प्रस्ट हुन्छ । आफूले माया गर्ने चुलीलाई चोखो राख्ने उनको चाहनाले त्यस बेलाको नियमलाई प्रभावित पार्यो ।’ साँच्चै गुरुङले भनेझैं एकजना मानिसको चाहनाले त्यो बेलाको नियमलाई प्रभावित गरेको देखिन्छ । जुन सरासर गलत नजीरको रुपमा स्थापित भयो । नभएदेखि हालसम्म सगरमाथा हिमालपछि संभवतः माछापुच्छ्रे हिमालमा धेरै संख्यामा पर्वतारोहीहरू ओइरिने थिए कि त ? माछापुच्छ्रे निषेधित भएको धेरैपछि सन् २००१ मा राष्ट्रिय समाचार समिति (रासस) ले ‘माछापुच्छ्रे विवाद’ शीर्षकमा पोखरावासीहरूको विचारलाई समाचार बनाएको थियो । सो समाचारमा अधिकांश पोखरावासीहरूले माछापुच्छ्रे हिमाल सुन्दर र पवित्र भएको हुनाले खोलिनु हुन्न भनेका थिए भने केहीले अध्ययन गर्नुपर्छ र केहीले सम्बन्धित गाविसको विचार (धारणा) बुझ्नुपर्छ भनेका थिए । कुनै हिमाल वा स्थान वा स्थल पवित्र र सुन्दर हुँदैमा त्यहाँ जानै हुँदैन, टेक्नै हुँदैन भन्नु पनि तर्क संगत र न्याय संगत नहोला कि ? त्यसो भन्नु आजको जमानामा अव्यवहारिक नै हो कि भन्न सकिन्छ ? के भनिन्छ भने, कुनै पनि हिमाल आरोहणको आकर्षण भनेकै पर्वतारोहीका लागि त्यो हिमाल कति सुन्दर छ, कति आकर्षक छ, चढ्नमा कति अप्ठ्यारो छ, कति उचाइको छ, हालसम्म कति पर्वतारोहीले चढे ? भन्नेले पनि अर्थ राखेको हुन्छ, अर्थ रहेको हुन्छ ।
पछिल्लोपटक प्रदेश सरकार बनेपछि प्रदेश सरकार र स्थानीय सरकारले माछापुच्छ्रे हिमाललाई अब पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिनुपर्ने/खोल्नुपर्ने भनी केन्द्रीय सरकारलाई आफ्नो राय/सुझाव दिए पनि ५, ६ वर्ष भइसकेको छ । सो कुरो यो पङ्तिका लेखकलाई माछापुच्छ्रेगाउँपालिका वडा नम्बर–४ का तत्कालीन वडा अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता रहेका पूर्ण बहादुर शाहीले बताएका थिए । तर, पनि माछापुच्छ्रे हिमाललाई पर्वतारोहीमाझ आरोहणका लागि अनुमति दिने/नदिने अधिकार केन्द्रीय सरकारलाई रहेको बताएका थिए, प्रवक्ता शाहीले ।
नेपाली समाज त्यो बेला (लगभग ७० वर्षअघिको) को भन्दा आज धेरै फरक सोच्ने र बुझ्ने भइसकेका छन् । अब फेरि कुनै पनि पोखरेलीसँग माछापुच्छ्रे हिमाललाई निषेधित राखी राख्नु ठीक होला कि, आरोहणका लागि खुल्ला गर्नु ठीक होला ? भनी प्रश्न गरेमा विरलै पोखरेलीहरूले मात्रै ‘माछापुच्छ्रे हिमाललाई अझै पनि निषेधित नै राखौं, किनभने माछापुच्छ्रे हिमाल पवित्र र सुन्दर छ !’ भन्लान् । केन्द्रीय सरकारले जति सक्दो चाँडो माछापुच्छ्रे हिमाललाई विश्वभरिका पर्वतारोहण प्रेमीहरूका लागि खुल्ला गरेको घोषणा गरोस् । माछापुच्छ्रे हिमालले गण्डकी प्रदेशको विकासको ढोका खोल्ने छ । माछापुच्छ्रे अन्य हिमाल हेरिकन केही सुगम स्थानमा छ । आकर्षक पनि रहेको छ । अनि अति सुन्दर पनि छ । साथै उचाइ पनि न धेरै अग्लो न धेरै होचो, ठिक्कको छ । सबैभन्दा महत्वपूर्ण भनेको यो हिमाल हालसम्म कसैले नचढेको कुमारी अर्थात् भर्जिन छ ! यातायातको दृष्टिले पनि सुगम नै रहेको छ । गाउँ–वस्तीबाट पनि नजिक रहेको छ ।