काठमाडौं । सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज लिमिटेको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि साधारण सेयरको बिक्री खुल्ला गर्न लागेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ३४ करोड रुपैयाँको २५ प्रतिशतले हुन आउने आठ करोड ५० लाख रुपैयाँ बराबरको आठ लाख ५० हजार कित्ता सेयर साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ८५ लाख रुपैयाँ बराबरको ८५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।
साधारण सेयरमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा पाँच हजार कित्तासम्म आवेदन दिन सकिने छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले वैशाख २४ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्कासन अवधि जेठ ४ गतेसम्म लम्बिने छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
साधारण सेयर निष्कासनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।