काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ । कम्पनीका अनुसार एनआईसी एसिया बैंक लिमिटेडको नाउँमा रहेको कम्पनीको सेयर गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गर्न लागिएको हो । बैंकले सेयर खरिदको लागि वैशाख २१ गतेदेखि बोलपत्र पेश गर्न आह्वान गरेको छ ।
सो अनुसार सूर्यज्योति लाइफको कुल आठ लाख ८७ हजार आठ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता एक सय ६५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले न्यूनतम पाँच हजार कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम मिति वैशाख २८ गते कार्यालय समयभित्र तोकिएको छ । यसअघि सम्बन्धित कम्पनीले विद्यमान संस्थापकहरूलाई प्राथमिकता दिने गरी ३५ दिने सूचना प्रकाशित गरिसकेकोले यसमा सर्वसाधारणलगायत सबैले बोलपत्र पेश गर्न सकिने बैंकले उल्लेख गरेको छ । बोलपत्र आवेदन फाराम काठमाडौंको थापाथलीस्थित ट्रेड टावर भवनमा रहेको एनआईसी एसिया क्यापिटल लिमिटेडबाट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ ।