काठमाडौँ , विशेष अदालतले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ) सम्बन्धी मुद्दामा हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र सुलभ अग्रवाललाई थप १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
बुधबार विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले उनीहरूलाई थप अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो।शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवालको हकमा यो छैटौँ पटक म्याद थप भएको हो भने व्यवसायी दीपक भट्टको हकमा पाँचौँ पटक म्याद थप गरिएको हो।
सम्पत्ति शुद्धीकरण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को समन्वयमा भट्टलाई चैत १९ गते काठमाडौँबाट पक्राउ गरेको थियो। त्यसपछि चैत २२ गते अग्रवाललाई पनि पक्राउ गरिएको थियो। उनीहरूमाथि अवैध सम्पत्ति आर्जन तथा मनि लाउण्डरिङ सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ।