चलचित्र ‘लालीबजार’ को प्रदर्शनमा लागेको अवरोध हटेको छ। उच्च अदालत पाटनले यसअघि जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन आवश्यक नदेखिएको ठहर गर्दै फिल्म प्रदर्शनको बाटो खुला गरिदिएको हो। न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रकाश आचार्यको संयुक्त इजलासले रिट निवेदनमाथि अन्तिम सुनुवाइ हुँदा थप विस्तृत रूपमा विचार गर्न सकिने उल्लेख गर्दै तत्कालका लागि रोक कायम राख्नुपर्ने आधार नदेखिएको जनाएको छ। अदालतको आदेशमा भनिएको छ, “रिट निवेदनमा माग गरिएको विषयवस्तु अन्तिम सुनुवाइका क्रममा विचाराधीन हुन सक्ने देखिएकाले हाल वैशाख १५ गते जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु पर्ने अवस्था देखिएन।” यस निर्णयसँगै चलचित्र ‘लालीबजार’ अब सार्वजनिक प्रदर्शनका लागि खुला भएको छ। यसअघि परेको रिटका कारण फिल्मको प्रदर्शन अनिश्चित बनेको थियो।अब भने अदालतको पछिल्लो आदेशपछि निर्माण पक्षलाई राहत मिलेको छ भने दर्शकले पनि प्रतीक्षामा रहेको फिल्म हेर्ने अवसर पाउने भएका छन्।