काठमाडौं । सरकारले सरकारी कर्मचारीसँग सम्बन्धित १२ वटा ट्रेड युनियन संगठनहरूको दर्ता खारेज गरेको छ। श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले बुधबार गरेको निर्णयअनुसार निजामती र स्वास्थ्य क्षेत्रसँग आबद्ध युनियनहरू खारेजीमा परेका हुन्।
विभागका अनुसार खारेज गरिएका संगठनमध्ये ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने ४ वटा स्वास्थ्यकर्मीका युनियन रहेका छन्।खारेजीमा परेका निजामती कर्मचारी संगठनहरूमा नेपाल निजामती कर्मचारी संगठन, नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन, नेपाल मधेशी निजामती कर्मचारी मञ्च, एकीकृत सरकारी कर्मचारी संगठन र स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन लगायत रहेका छन्।
त्यसैगरी स्वास्थ्य क्षेत्रतर्फ नेपाल स्वास्थ्यकर्मी संघ, मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल स्वास्थ्यकर्मी युनियन, स्वास्थ्यकर्मी युनियन नेपाल, राष्ट्रिय स्वास्थ्यकर्मी संघ तथा राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठनको दर्ता पनि खारेज गरिएको छ।सरकारको यो निर्णयसँगै लामो समयदेखि सक्रिय यी ट्रेड युनियनहरूको वैधानिक अस्तित्व समाप्त भएको छ। यद्यपि, खारेजीको कारणबारे विभागले विस्तृत विवरण सार्वजनिक गरेको छैन।यस निर्णयले कर्मचारी संगठनहरूबीच नयाँ बहस सुरु गराउने अनुमान गरिएको छ भने सरकारी संरचनाभित्र ट्रेड युनियनहरूको भूमिकामाथि समेत प्रश्न उठ्ने देखिएको छ।