सरकारले ११ जना सहसचिवको सरुवा गर्दै विभिन्न मन्त्रालय तथा निकायमा जिम्मेवारी परिवर्तन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो।
निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ल्याइएको छ।
यस्तै, गृह मन्त्रालयअन्तर्गत कार्यरत सहसचिव नमराज घिमिरेलाई मुस्लिम आयोगमा सरुवा गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रामकृष्ण पुडासैनीलाई अर्थ मन्त्रालयमा खटाइएको छ भने अर्थ मन्त्रालयकै सहसचिव कृष्णकुमारी श्रेष्ठलाई उद्योग मन्त्रालयमा सरुवा गरिएको छ।
युवा तथा खेलकुद मन्त्रालयमा काजमा रहेका सहसचिव रमेश ढकाललाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पठाइएको छ। साथै अर्थ मन्त्रालयका सहसचिव रामदत्त भट्टलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ।
त्यसैगरी मुस्लिम आयोगका सहसचिव रमेश न्यौपानेलाई राष्ट्रिय सूचना आयोगमा जिम्मेवारी दिइएको छ भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत अतिरिक्त समूहमा रहेका सहसचिव सन्तोषकुमार दाहाललाई राष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव अनिलकुमार दत्तलाई सञ्चार मन्त्रालयमा खटाइएको छ भने सञ्चार मन्त्रालयअन्तर्गत रहेका सहसचिव श्रीचन्द्र शाहलाई अर्थ मन्त्रालयमा सरुवा गरिएको छ। सरकारको यो निर्णयले प्रशासनिक संरचनामा थप गतिशीलता ल्याउने अपेक्षा गरिएको छ।