काठमाडौं । कामना सेवा विकास बैंकले चितवनको जनकल्याण आधारभूत विद्यालयमा अध्ययनरत गरिबीको रेखामुनी रहेका विद्यार्थीहरूलाई स्टेसानरी तथा शैक्षिक सामग्री वितरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय सर्दीमार्फत विद्यालयलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो । बैंकका नारायणगढ क्षेत्र प्रमुख सुरेन्द्र भण्डारीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सिन्जलीलाई स्टेसानरी तथा शैक्षिक सामग्री हस्तान्तरण गरेका हुन् ।
विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत जम्मा एक सय ३८ जना विद्यार्थीहरूलाई विभिन्न प्रकारका शैक्षिक सामग्री वितरण गरिएको बैंकले जनाएको छ । वितरण गरिएका सामग्रीहरूमा वर्णमाला तथा अंकसम्बन्धी चार्टहरू, एबीसीडी तथा विभिन्न शैक्षिक चार्टहरू, हप्ताका दिन तथा महिनासम्बन्धी चार्टहरू, नर्सरी तहका अध्ययन सामग्री, पेन्सिल कलर, कापी, पेन्सिल, बालबालिकाका लागि खेलमुखी अध्ययन सामग्री, नर्सरी कक्षाका शैक्षिक उपकरणहरूलगायतका सामग्री समावेश रहेका छन् ।
कार्यक्रममा अध्यक्ष सिन्जलीले बैंकले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै यस प्रकारका शैक्षिक सामग्रीले विद्यार्थीहरूको सिकाइ प्रक्रियालाई सहज र प्रभावकारी बनाउन ठूलो सहयोग पुग्ने बताए । उनले यस्ता कार्यक्रमले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको मनोबल बढाउनुका साथै शिक्षा क्षेत्रमा सकारात्मक प्रभाव पार्ने धारणा राखे । कार्यक्रममा बैंकका कर्मचारीहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रध्यानाध्यापक, शिक्षक तथा विद्यार्थीहरूको उपस्थिति थियो । यससँगै बैंकले आगामी दिनमा समेत सरोकारवालाहरूको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका साक्षरता कार्यक्रमहरूलाई निरन्तरता दिने जनाएको छ ।