रसुवा । रसुवाको आमाछोदिङ्मो गाउँपालिका–३ गतलाङमा रेन्बो ट्राउट माछापालन सुरू गरिएको छ । हिमाली गाउँमा कृषि तथा पर्यटनलाई जोड्दै आर्थिक गतिविधि विस्तार गर्ने उद्देश्यले स्थानीय व्यवसायीले माछापालन सुरु गरेका हुन् ।
गणेश हिमाल क्षेत्रमा पदयात्राका लागि आउने पर्यटकलाई लक्षित गरी होटल परिसरमै ट्राउट माछापालन सुरु गरिएको राससले जनाएको छ । होटल सञ्चालक तथा माछापालक सुजन तामाङका अनुसार पाहुनाको रूचिअनुसार ताजा माछाका परिकार ख्वाउन थालेपछि पर्यटक आकर्षित भएका छन् । समुद्र सतहदेखि करिब २६०० मिटर उचाइमा रहेको चिसोपानीमा पालिएको रेन्बो ट्राउट माछा अन्य स्थानको भन्दा स्वादिलो भएको माछाका पारखी मार लामा तामाङ बताउँछन् ।
काठमाडौँबाट दैनिक बस सेवा सञ्चालनमा आएकाले ज्येष्ठ नागरिक, विद्यार्थी तथा प्रकृति अध्ययनमा रुचि राख्ने युवाका लागि गतलाङ पुग्न सहज बनेको छ । मिश्रित वनस्पति, जैविक विविधता र हिमाली वातावरणको अवलोकन गर्न युवापुस्ता बढी आकर्षित हुन थालेको स्थानीयवासीले बताएका छन् । गतलाङमा होमस्टेसमेत सञ्चालन हुन थालेका छन् ।