पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
ठेक्का सम्झौतामा भएको व्यवस्थाविपरीत ठेकेदार कम्पनीलाई राजस्व छुट दिएको आरोपमा अख्तियारले ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बिगो मागदाबी गर्दै आरोपपत्र दर्ता गरेको हो।
मुद्दामा तत्कालीन अर्थमन्त्री कार्कीसँगै तत्कालीन अर्थसचिव शंकर प्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, तत्कालीन सहसचिवहरू सुरेश आचार्य र दुण्डुराज घिमिरे, पूर्वसचिव (तत्कालीन सहसचिव) केवल भण्डारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जिव गौतम तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारीलाई प्रतिवादी बनाइएको छ।
यस्तै उपसचिव युवराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी, इन्जिनियर योगेश अर्यालसहित अन्य कर्मचारीमाथि पनि भ्रष्टाचार आरोप लगाइएको छ।अख्तियारले विमानस्थल निर्माणमा संलग्न चिनियाँ कम्पनी ‘सीएएमसी’ तथा कम्पनीका अध्यक्ष, परियोजना व्यवस्थापक र म्यानेजरलाई समेत प्रतिवादी बनाएको जनाएको छ।
अख्तियारका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठेक्का सम्झौता र कानुनी व्यवस्थाविपरीत कर तथा राजस्व छुट प्रदान गरेर राज्यलाई ठूलो आर्थिक नोक्सानी पुर्याइएको निष्कर्षसहित मुद्दा दायर गरिएको हो।
यसअघि अख्तियारले गत २१ मंसिरमा सोही विमानस्थल निर्माणसँग सम्बन्धित अर्को भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि ८ चैतमा पनि विमानस्थल निर्माणमा भएको अनियमिततासम्बन्धी थप मुद्दा दर्ता गरिएको थियो। आज दायर गरिएको मुद्दा उक्त प्रकरणकै तेस्रो भ्रष्टाचार मुद्दा हो। बहुचर्चित पोखरा अन्तर्राष्ट्रिय विमानस्थल परियोजनामा लगातार भ्रष्टाचार मुद्दा दर्ता हुन थालेपछि परियोजना सञ्चालन, लागत व्यवस्थापन र निर्णय प्रक्रियामाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।