काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुईवटा बीमासम्बन्धी काम गर्ने कम्पनीलाई कारबाही गरेको छ । प्राधिकरणका निर्देशक एवं प्रवक्ता पुजन ढुंगेल अधिकारीका अनुसार पुनर्बीमा दलालको सेवा दिँदै आएको लर्ड बुद्ध रि–इन्स्योरेन्स ब्रोकिङ प्रालि र निर्जीवन बीमा कम्पनी सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) लाई कारबाही गरिएको हो ।
सलिकोलाई सम्पत्ति बीमा निर्देशन, २०८० को दफा २५(२) विपरीत कार्य गरेको पाइएपछि कारबाही गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिइन् । ‘बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (४) को खण्ड (क) बमोजिम उक्त कम्पनीलाई कारबाही स्वरूप पहिलो पटक दुई लाख रुपैयाँ जरिवाना गरिएको हो’, उनले भनिन् । सम्पत्ति बीमा निर्देशन, २०८० अनुसार कुनै पनि कम्पनीले जारी गर्ने बीमालेखको बीमाशुल्कमा छुट, रिहायत, कटौती वा सहुलियत दिन नपाइने व्यवस्था छ ।
बीमा अभिकर्ताको प्रयोग नगरी सिधै बीमालेख बिक्री गरिएको अवस्थामा पाँच प्रतिशतसम्म वा अभिकर्ताले पाउने रकमबराबरको छुट दिन सकिने व्यवस्था रहेको छ । तर, सलिकोले उक्त व्यवस्था उल्लंघन गरेको पाइएपछि प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार कारबाही गर्दै दुई लाख रुपैयाँ जरिवाना गरिएको प्रवक्ता ढुंगेलले प्रस्ट पारिन् ।
प्राधिकरणले पुनर्बीमा दलालसम्बन्धी निर्देशिका, २०७८ को दफा १५ को उपदफा (१) र (२) को व्यवस्था पालना नगरेको भन्दै लर्ड बुद्ध रि–इन्स्योरेन्स ब्रोकिङ प्रालिलाई पनि कारबाही गरेको छ । पुनर्बीमा दलालको इजाजतपत्र प्राप्त संस्थाले समितिको स्वीकृतिविना स्वामित्व हस्तान्तरण, परिवर्तन वा विघटन गर्न नपाउने व्यवस्था रहेको रहेको छ भने स्वामित्व परिवर्तन गर्न चाहेमा कारण खुलाएर समितिसमक्ष निवेदन दिनुपर्ने प्रावधान व्यवस्था रहेको छ । तर लर्ड बुद्धले भने उक्त व्यवस्था उल्लंघन गरेको पाइएपछि बीमा ऐन, २०७९ को दफा १३८ को उपदफा (६) को खण्ड (क) बमोजिम पाँच हजार रुपैयाँ जरिवाना गरिएको प्रवक्ता ढुंगेलले जानकारी दिइन् ।