काठमाडौं । शिक्षामन्त्री सस्मित पोख्रेलले आफ्ना निर्णय एकपछि अर्को अवज्ञा हुँदै गएपछि बुधबार अर्को विज्ञप्ति जारी गर्न लगाएर अनियमित किसिमले लिइएका शुल्क विद्यार्थीलाई फिर्ता नगरे कारबाही गर्ने चेतावनी दिएका छन् । बालेन सरकारको प्रवक्ता समेत रहेका मन्त्री पोख्रेलले गरेका कुनै पनि निर्णय ठोस रूपमा कार्यान्वयन हुन सकेका छैनन् ।
मन्त्री भएपछिको पहिलो निर्णय नै स्वार्थसमूहको दबाबमा भोलिपल्टै सच्याएपछि मन्त्री पोख्रेल आफैँ बुमर्याङमा परेका हुन् । युरोपेली मुलुक फिनल्याण्डको जस्तो शिक्षा नीति बनाउने भनेर सामाजिक सञ्जालमा हल्ला पिटाएर नागरिकको धैर्यको मुहान थुनेर राखेका शिक्षामन्त्री सस्मित पोख्रेल आफ्नो स्वार्थ जोडिएपछि एउटा निर्णय सच्याउँदा त्यसपछिका कुनै निर्णय कार्यान्वयन गर्न नसक्ने अप्ठ्यरोमा परेका छन् । शिक्षामन्त्री नियुक्त भएलगत्तै गत चैत १५ गते पोख्रेलले ब्रिजकोर्ष बन्द गर्ने र इन्ट्रान्स परीक्षा दिने व्यवस्था खारेज गर्ने निर्णय गरेका थिए । मन्त्री पोख्रेलका आसेपासेले घेरेर उक्त निर्णय सच्याउन दबाब दिएपछि उनले भोलिपल्टै निर्णय सच्याएका थिए तर त्यसपछि उनले गरेका कुनै पनि निर्णय हुबहु कार्यान्वयन हुन सकेको छैन ।
पछिल्लो पटक शिक्षामन्त्री पोख्रेलले स्कुलका विद्यार्थीसँग वैशाख महिनाको शुल्क लिन नपाइने घोषणा गरेका छन् । वैशाख २१ गतेदेखि पठनपाठन सुरु हुने भएकाले स्कुलले विद्यार्थीसँग वैशाख महिनाको शुल्क लिन नपाउने भनिएको छ । तर विद्यालय व्यवस्थापनले विद्यार्थीहरूलाई भर्ना गर्दा नै वैशाख महिनाको मासिक शुल्क उठाइसकेका छन् । मन्त्री पोख्रेलले यसअघि सोही विद्यालयमा अध्ययन गरेको विद्यार्थीलाई कक्षा चढ्दा भर्ना शुल्क लिन नपाउने घोषणा गरेका थिए तर विद्यालयहरूले भर्ना शुल्क नभनी विद्यार्थीसँग वार्षिक शुल्क भने अतिरिक्त रकम उठाइरहेका छन् ।
पोख्रेल मन्त्री भएपछि बनाइएको भर्ना प्रक्रिया र छात्रवृत्तिसम्बन्धी निर्णयको पनि इमान्दार कार्यान्वयन भएको पाइएको छैन । मन्त्री पोख्रेलले पहिलो निर्णय सच्याउनेबाहेक अर्को गल्ती गरेका पनि छैनन् तर ब्रिजकोर्ष बन्द गर्ने निर्णय सच्याउनेबित्तिकै विकृत कर्मचारी प्रशासनले उनका त्यसपछिका निर्णय हुबहु कार्यान्वयन गर्न सघाइरहेको छैन र मन्त्रीका निर्णय कार्यान्वयन हुन नदिन निजी विद्यालय प्रशासनलाई उक्साइरहेको छ । शैक्षिक संस्थाबाट विद्यार्थी संगठनहरू समेत खारेज गर्ने शाहीकालमै असफल भएको एजेन्डा समेत घोषण गरेका मन्त्री पोख्रेल आफ्नै निर्णय सच्याउँदा आफैँ बुम¥याङमा परेको अझै पत्तो पाएका छैनन् ।