काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ति सिफारिस समितिका संयोजक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । आफ्ना नातेदारहरूको समेत बोर्ड अध्यक्ष पदका लागि आवेदन परेपछि स्वार्थको द्वन्द्व हुन सक्ने भन्दै डा. भट्टले संयोजक पदबाट राजीनामा दिएका हुन् ।
बोर्डका अध्यक्ष पदका लागि आवेद दिएका ४७ जनामध्ये उनका नातेदार (काका छोरा) डा. गोपाल प्रसाद भट्टले आवेदन दिएपछि स्वार्थ बाझिन सक्ने भन्दै उनले राजीनामा दिएका हुन् । मन्त्रिपरिषद्को गत वैशाख ८ गते बसेको बैठकले डा. भट्टको संयोजकत्वमा धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय समिति गठन गरेको थियो । उक्त समितिमा डा. भट्टले राजीनामा दिएपछि अर्थसचिव घनश्याम उपाध्याय र पूर्वबैंकर भुवन कुमार दाहाल मात्र बाँकी भएका छन् ।