प्यालेस्टाइन । संयुक्त राष्ट्रसंघको मानवीय सहायता समन्वय निकायका अनुसार गाजामा रहेका २१ लाख मानिसहरू अहिले पनि गाजा क्षेत्रको आधाभन्दा कम भू–भागमा सीमित भएर बस्न बाध्य छन् ।
संयुक्त राष्ट्रसंघले जनाएको अनुसार मानिसहरूले गाजाका धेरै भागहरूमा पहुँच पाउन सकेका छैनन्, जहाँ खेतीयोग्य जमिन र अत्यावश्यक पूर्वाधारहरू रहेका छन् । उनीहरू विदेश जान वा विशेष स्वास्थ्य सेवा उपलब्ध हुने पश्चिमी किनारा क्षेत्रमा पुग्न समेत असमर्थ छन् ।
मानवीय सहायता निकायहरूले कठिन परिस्थितिका बीच पनि राहत वितरण जारी राखेका छन् । गत साता करिब ५ हजार ओछ्यान सामग्री, ६ सय शय्या सामग्री किट, १ हजार ५ सयभन्दा बढी अस्थायी आवास सामग्री र झण्डै ५५० वटा पाल चार हजार चार सयभन्दा बढी परिवारलाई वितरण गरिएको बताइएको छ । खाद्य सुरक्षासम्बन्धी साझेदार संस्थाहरूले दैनिक ११ लाखभन्दा बढी खाना १२० भन्दा बढी सामुदायिक भान्सामार्फत उपलब्ध गराइरहेका छन् । रासस/सिन्ह्वा