काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले वार्षिक साधारणसभाको आहृवान गरेको छ । बैंकको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते सोमबारका लागि साधारणसभा बोलाएको हो । बैंकको २८औँ सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुने छ ।
बैंकले यसअघि नै सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न र आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै अधिकृत पुँजी वृद्धि गरी १९ अर्ब ९२ करोडबाट २७ अर्ब ३८ करोड बनाउन, जारी पुँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन र चुक्ता पुँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन स्वीकृति दिने र केन्द्रीय कार्यालय कमलादीस्थित आफ्नै भवनमा कायम गर्ने प्रस्ताव पारित गर्नेछ। यसका अतिरिक्त गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणसहित सहायक कम्पनी एनआईसी एसिया लघुवित्त र एनआईसी एसिया क्यापिटलको वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । त्यस्तै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवालको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण सेयरधनी अनुपा प्रधान राजभण्डारीको नियुक्ति अनुमोदन गर्ने र संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गरिनेछ ।
साधारणसभा प्रयोजनार्थ बैंकले जेठ ६ गतेदेखि १८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जेठ ५ गतेसम्म कायम सेयरधनीमात्रै साधारणसभामा भाग लिन र मनदान गर्न योग्य हुनेछन् ।