काठमाडौं । लक्ष्मी सनराइज बैंकले विश्व बैंक समूहअन्तर्गतको निजी क्षेत्रीय संस्था इन्टरनेशनल फाईनान्स कर्पोरेशन (आईएफसी) सँग ‘बैंकिङ अन वुमेन’ पहलअन्तर्गत ग्लोवल डब्लुएमएसएमई सेक्स डिस्एग्रीटेड डाटा (एसडिडी) सम्बन्धी सहकार्य सम्झौता गरेको हो । उक्त कार्यक्रमलाई महिला उद्यमशीलता प्रवर्द्धनका लागि स्थापित बहुपक्षीय अन्तर्राष्ट्रिय पहलले सहयोग गरिरहेको बैंकले जनाएको छ ।
बैंकका अनुसार पहलले विश्वभर महिला नेतृत्व तथा स्वामित्व भएका साना तथा मझौला उद्यममा लगानी तथा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले स्थापना गरिएको बहुदातृ अन्तर्राष्ट्रिय प्लेटफर्म हो । यसअन्तर्गत सञ्चालन हुने वमन इन्टरप्रिनिर्यस फाईनान्स कोडले वित्तीय संस्था, नियामक निकाय तथा वित्तीय प्रणालीसँग आबद्ध सरोकारवालाबीचको साझा प्रतिबद्धता रहेको जनाइएको छ । यसले महिला उद्यमीलाई आवश्यक वित्तीय स्रोत उपलब्ध गराई आर्थिक वृद्धि र रोजगारी सिर्जनामा योगदान पु¥याउने लक्ष्य राखेको छ ।
सम्झौतामा लक्ष्मी सनराइज बैंकका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराई तथा दक्षिण एसियाका क्षेत्रीय प्रबन्धक मेहदी चेरकाउईले हस्ताक्षर गरेका थिए । यस सहकार्यअन्तर्गत आईएफसीले बैंकलाई लैङ्गिक आधारमा विभाजित तथ्यांकको संकलन, विश्लेषण तथा उपयोग प्रक्रियालाई सुदृढ बनाउन सहयोग गर्नेछ । यसबाट महिलाको स्वामित्वमा रहेका साना तथा मझौला उद्यमका आवश्यकता, चुनौती तथा अवसरबारे थप बुझाइ विकास हुने विश्वास बैंकले लिएको छ ।
बैंकका अनुसार उक्त तथ्यांकका आधारमा महिला उद्यमीका लागि अझ प्रभावकारी तथा उपयुक्त वित्तीय समाधान विकास गर्न सहज हुने अपेक्षा गरिएको छ । साथै, यो सहकार्यले जिम्मेवार बैंकिङ अभ्यासप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ ।