काठमाडौं । भक्तपुर सूर्यविनायकको राष्ट्रिय प्राणी उद्यानको काम अगाडि बढाउन सरोकारवालाहरूले सरकारसँग माग गरेका छन् ।
बिहीबार सूर्यविनायकमा आयोजित ‘राष्ट्रिय प्राणी उद्यानको औचित्य र भविष्य’ कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले करिब एक दशक बितिसक्दा पनि परियोजना अघि नबढेको बताए । उनले प्राणी उद्यान निर्माणमा ढिलाइ हुँदा स्थानीय समुदायमा जोखिम बढिरहेको बताए । उनले भने, ‘प्राणी उद्यानले गति नलिँदा हाम्रै समुदायमा जोखिम बढ्न थालेको छ । केही समयअघि यही जंगलमा चितुवाले ६ वर्षीय बालकमाथि आक्रमण गर्दा ज्यान नै गयो । अहिलेको शक्तिशाली सरकारले यो कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउनेमा हामी आशावादी छौँ ।’ त्यसैगरी सूर्यविनायक नगरपालिका–८ का वडा अध्यक्ष पुष्पराज बस्नेतले उद्यान निर्माणका लागि छवटा सामुदायिक वन उपलब्ध गराइसकेको उल्लेख गर्दै सरकारले छिटो प्रक्रिया अघि बढाउनुपर्ने बताए । उनले भने, ‘हामीले करिब १० वर्षअघि छवटा सामुदायिक वन उक्त प्राणी उद्यानलाई दिएका थियौँ । यदि सरकारले अझै उद्यान बनाउने काम अघि बढाउँदैन भने वन क्षेत्र हामीलाई फिर्ता गरिदिए हुन्छ, त्यसको संरक्षण हामी आफैँ गर्नेछौँ ।’
कार्यक्रममा राष्ट्रिय प्राणी उद्यानकी कार्यालय प्रमुख कुसुम नेपालले परियोजना अझै कार्यान्वयनमा नपुगेको भन्दै दुःख व्यक्त गरिन् । उनले भनिन्, ‘म आफैँ फरेस्ट्रीको विद्यार्थी हुँ । मैले पढ्ने बेलामै यो परियोजनाको विषयमा सुनेकी थिएँ । तर अहिले म आफैँ यो संस्थाको हाकिम भइसक्दा पनि काम अघि बढेको छैन । अहिलेको सरकारले काम अघि बढाउनेमा हामी आशावादी छौँ ।’ विसं २०७१ साल माघ २९ गतेको मन्त्रिपरिषद् बैठकले भक्तपुरको सूर्यविनायकस्थित दुई सय ४५ हेक्टर सामुदायिक तथा सरकारी वन क्षेत्रमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्ने निर्णय गरेको थियो । अन्तर्राष्ट्रियस्तरको पर्यटकीय केन्द्र बनाउने लक्ष्य राखिएको उक्त परियोजना हालसम्म पनि सुस्त गतिमै रहेको छ ।