काठमाडौँ , कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्याय प्रणालीलाई कमजोर बनाउने प्रयासप्रति गम्भीर चिन्ता व्यक्त गरेकी छिन्।शनिबार कानुन दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले कुनै पनि बहानामा न्यायलाई प्रतिस्थापन गर्ने वा संवैधानिक प्रक्रियामाथि धराप थाप्ने प्रवृत्ति बढ्न सक्ने डर पैदा भएको बताइन्।
उनले न्याय र संविधानको मर्मविपरीत हुने गतिविधिलाई सहन वा संरक्षण गर्ने वातावरण बने त्यसले दीर्घकालीन रूपमा गम्भीर परिणाम ल्याउन सक्ने चेतावनी दिइन्।“आगामी दिनहरूमा कुनै कारण देखाएर न्यायको प्रतिस्थापन गर्न खोज्ने दुष्प्रयासलाई सहने वातावरण निर्माण हुन सक्ने डर उठिरहेको छ,” उनले भनिन्।
प्रधानन्यायाधीश मल्लले शक्ति र प्रभावको आडमा असंवैधानिक कामलाई जायज ठहर गर्न खोजिए त्यसको असर सबैमाथि पर्न सक्ने उल्लेख गर्दै “एउटालाई खाने बाघले अर्कोलाई नखाला भन्न सकिँदैन” भन्ने टिप्पणी गरिन्।उनले संविधानलाई यथास्थितिमा राखेर संविधानविरुद्ध गरिने गतिविधि कुनै पनि हालतमा परिवर्तन वा क्रान्ति हुन नसक्ने स्पष्ट पारिन्। संविधानको उल्लंघन गर्नेहरूलाई उत्तरदायी नबनाएसम्म संविधानप्रतिको बफादार कार्यान्वयन सम्भव नहुने उनको भनाइ थियो।“संविधानको विरूप पारेर संविधानकै संरक्षकको रूपमा प्रस्तुत हुन सकिँदैन,” उनले भनिन्। उनको अभिव्यक्तिलाई पछिल्लो राजनीतिक तथा संवैधानिक बहससँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ।