काठमाडौं, नक्कली भ्याट बिल प्रयोगमार्फत अर्बौं रुपैयाँ कर छली गरेको आरोपमा मोरङ अटो वक्र्सका संचालक तथा प्रबन्ध निर्देशक विष्णु अग्रवालविरुद्ध उजुरी दर्ता भएको छ । अग्रवालविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा उजुरी परेको हो ।उजुरीमा उनी र उनका गैरकानुनी काम कारबाहीमाथि निष्पक्ष तरिकाले छानबिन गरी कडा कानुनी कारबाही गर्न माग गरिएको छ । शुक्रबार अग्रवालविरुद्ध उजुरी दर्ता भएको हो । अग्रवालले संगठित ढंगले कर, भन्सार र आयकर छली गर्दै आएको आरोप छ । अग्रवालले २०६७ सालमा नक्कली भ्याट बिल प्रकरमा मुछिएपछि सेटिङमा मुख्य कम्पनी मोरङ अटो वक्र्स बन्द गरी ‘मोरङ’ बाट एम, ‘अटो’ बाट ए र ‘वक्र्स’ बाट डब्लू जोडेर ‘एमएडब्लू’ नाम प्रयोग गरी नयाँ कम्पनी स्थापना गरी पुन अवैध कारोबार गर्दै आएको प्रधानमन्त्री कार्यालयमा परेको उजुरीमा उल्लेख छ ।
दर्ता नम्बर ६३८४ रहेको उजुरीमा २०६७ सालमै गठित नक्कली मुल्य अभिवृद्धि कर (भ्याट) छानबिन समितिले अग्रवाल सम्बद्ध कम्पनीलाई दोषी किटान गरे पनि शक्तिका आडमा विभिन्न कम्पनीमार्फत कारोबार गर्दै कर छली गर्ने अवैध प्रक्रियालाई निरन्तरता दिँदै आएको आरोप लगाइएको छ । त्यस्तै, उजुरीमा आर्थिक वर्ष २०८०/०८१ मा एमएडब्लू वृद्धि कमर्सियल भेहिकल्स प्रालिले आयात गरेको फोटोन कम्पनीका इभी गाडीहरुमा समेत भन्सार छलि भएको तथ्य भन्सार विभागमा परेको उजुरीमा उल्लेख रहेको उल्लेख छ ।त्यस्तै अग्रवाल समूहले आफ्नै कम्पनीहरूबीच कृत्रिम कारोबार देखाइ कर दायित्व घटाउने, पुष्टि नभएका खर्च देखाएर आयकर छलि गर्ने तथा राज्यलाई ठगी गर्ने काम निरन्तर गरिरहेको गम्भीर विषयमाथि छानबिन गरी कारबाही गर्न उजुरीमार्फत माग गरिएको छ ।