काठमाडौं । सरकारले सहकारीका ठूला ऋणीहरुको नाम सार्वजनिक गर्ने निर्णय गरेसँगै एक दर्जन बढी सहकारीका करिब दुई सय ठूला ऋणीहरको नाम सार्वजनिक भएको छ । शुक्रबारमात्रै ११ वटा समस्याग्रस्त सहकारीका एक सय नौ ठूला ऋणाीको नाम सार्वजनिक गरेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जनाएको छ ।सरकारले बचत रकम फिर्ता गर्ने उद्देशयले समस्याग्रस्त सहकारीका ठूला ऋणाीहरुको नाम सार्वजनिक गरेको हो । समस्याग्रस्त सहकारी समितिले दोस्रो चरणमा ठूला ऋणीहरुको नामवलीअन्तर्गत उक्त सहकारी र ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको हो ।समितिका अनुसार दोस्रो चरणमा सार्वजनिक गरिएका ऋणी कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, गोरखा सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड, लुःनिभा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, हाम्रो नयाँ कृषि सहकारी संस्था लिमिटेड तथा प्यासिफिक सेभिङ एन्ड इन्भेस्टमेन्ट कोअपरेटिभ लिमिटेड, सोसाइटल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पशुपति सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, स्टान्डर्ड सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेड, कान्तिपुर सेभिङ एन्ड क्रेडिट सहकारी संस्था लिमिटेड र लालिगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका ठूला ऋणीको नाम सार्वजनिक सूचीमा समावेश छ ।
उक्त सहकारीबाट विभिन्न व्यक्तिका साथै संघ संस्थाले समेत ऋण लगेका छन् । संस्थाहरुमा समिट हस्पिटल, कृष्णा इन्भेस्टमेन्ट प्रालि, गोर्खा हस्पिटल, मामती एग्रिगेट इन्डस्टी, हायरिङ प्रालि, कान्तिपुर हस्पिटल लगायतका रहेका छन् । साथै दर्जनौं व्यक्तिहरु ठूला ऋणीहरु रहेका छन् । मन्त्रालयको निर्णय अनुरुप समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाम सार्वजनिक गरिएको समितिका अध्यक्ष डिल्लीराज आचार्यले जानकारी दिए । उनका अनुसार ऋणीहरुको नाम सार्वजनिक गरेको १५ दिन भित्र ऋण चुक्ता कर्जा गर्न अवधि दिएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले वैशाख दोस्रो साता समस्याग्रस्त सहकारीका ऋणीहरुले आफूले लिएको ऋण नतिरेमा व्यक्तिगत विवरण सार्वजनिक गर्ने निर्णय गरेको थियो । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पूर्णता पाएसँगै मन्त्रालयले सूचना जारी गर्दै सहकारीबाट ऋण लिएका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूका नाम सार्वजनिक गर्न समितिलाई निर्देशन दिएको हो ।
यसअघि समितिले बुधबार पहिलो पटक समस्याग्रस्त सहकारीका ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको थियो । समितिले पहिलो चरणअन्तर्गत बुधबार १० समस्याग्रस्त सहकारीका ८७ ठूला ऋणीहरुको नाम सार्वजनिक गरेको थियो । सहकारीहरुले संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रिय स्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक–पटक जानकारी गराउँदासमेत कर्जा प्रवाह गर्न नआए सँगै पछिल्लो कदम चालेको हो ।पटक–पटक जानकारी गराउँदा पनि कर्जा प्रवाह गर्न नआए सँगै ऋणीहरुको कारबाही स्वरुप नाम सार्वजनिक गरिएको हो । तर उनीहरुको कर्जा रकम भने सार्वजनिक गरिएको छैन । कर्जा लिएको रकम नबुझाएमा ऋणी तथा जमानीको समेत सम्पत्ति रोक्कादेखि धितो लिलाम गर्ने तयारी सरकारको रहेको छ । ऋण फरफारक नगरेमा ऋणी, निजको परिवार र जमानीको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने तथा उनीहरूको नाममा रहेको सम्पत्ति र खाता रोक्का गरिने छ ।
अध्यक्ष आचार्यका अनुसार समस्याग्रस्त सहकारीका बचतकर्तालाई बचत रकम फिर्ता गर्ने उद्देश्यले हालका कारबाही प्रक्रिया अघि बढाइउको हो । सरकराले समस्याग्रस्त सहकारीका बचतकर्तालाई आगामी जेठ महिनाबाट बचतकर्ताको रकम फिर्ता प्रक्रिया सुरु गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । समस्याग्रस्त सहकारीहरूको बचत फिर्ता तथा ऋण असुलीलाई प्राथमिकतामा राखेर काम अघि बढाएको उल्लेख गर्दै समितिले यस अघि मागदावी छुटेका बचतकर्ताका लागि आगामी श्रावणको पहिलो सातामा पुनः मागदावी फारम खोल्ने जनाएको छ। समितिले समस्याग्रस्त सहकारीहरूमा करिब ७६ हजार बचतकर्ताको झण्डै ४६ अर्ब रुपैयाँ फिर्ता हुन बाँकी रहेको उल्लेख गरेको छ। साथै सहकारी क्षेत्रमा देखिएका विविध समस्याको पहिचान, समाधान र व्यवस्थापनका लागि समिति सक्रिय रहेको जनाएको छ। सोही अनुरुप समितिले आन्तरिक कार्यविधि सुधार, सरोकारवालासँग छलफल, कार्ययोजना निर्माण तथा कार्यान्वयन गर्दै आएको र बचतकर्तालाई जानकारी गराउने, ऋणीहरूलाई ऋण तिर्न प्रोत्साहित गर्ने तथा आवश्यक कारबाही अघि बढाउने कार्य गरिरहेको जनाएको छ।