काठमाडौं। एक्काईसौँ शताब्दीको तेस्रो दशकमा मानिसले नसोचेजस्तो परिवर्तन आएको छ । अहिले एआई सम्भवतः संसारमा सबैभन्दा प्रचलित शब्द हो । एआईसम्बन्धी कुराकानी हरेक देशको हरेक घरमा भइरहेको होला, साथै यसको असर हरेक क्षेत्रमा देखिएको छ । विकसित देशहरूमा महिनैपिच्छे कुनै न कुनै नयाँ शक्तिशाली एआई मोडलको विकास तथा चर्चा भइरहेको छ र यसले जनजीवन तथा रोजगार, व्यवसायहरूमा गहिरो असर पार्न थालेको छ । अहिले त कुनै रोजगारीको लागि अन्तरवार्तामा जाँदा तिमीले काममा एआई कत्तिको प्रयोग गर्छौ ? भन्ने प्रश्न सोध्न थालिएको छ । यदि म एआई चलाउँदिन, आफ्नै दिमागले काम गर्ने हो, एआईले मान्छेलाई अल्छी बनाउँछजस्तो जवाफ दिएमा त्यसै समय अन्तरवार्ता सकिन्छ, अनि त्यो अन्तरवार्ता विफल हुन्छ । हाम्रोजस्तो सानो अविकसित मुलुकमा अहिले यतिसम्मको असर देखिएका छैन होला तर निकट भविष्यमा अवश्य हुनेछ ।
हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा सुन्दै आएका छौँ– एआई प्रविधिको विकास र अनुसन्धानमा अमेरिका र चीनको प्रतिस्पर्धा नै चलेको छ । यस क्षेत्रमा यति छिटो परिवर्तन भइरहेको छ कि केही महिनामै नौलो शक्तिशाली मोडहरू बजारमा उपलब्ध हुन्छन् । अहिले उपलब्ध मोडहरू नै यति शक्तिशाली छ कि यसले कथा, कविता लेख्न सक्छ, गीत लेख्नुको साथै सङ्गीत भरेर गाउन पनि सक्छ । उच्च क्वालिटीको भिडियो पनि बनाउन सक्छ । अफिसको काम साथै अन्य धेरै काम छिटो छरिटो गर्न सक्छ । अहिले उपलब्ध एआई चलाएर सायद एक जनाले पहिलेका ५ जनाको काम गर्न सक्छ होला । यसो हेर्दा एआईले बेरोजगारी बढाउँछ जस्तो देखिन्छ तर एआईको प्रयोगले हरेक क्षेत्रमा उत्पादनशीलता बढाउन मद्दत गर्छ ।यसले पक्कै नयाँ अवसरहरू प्रदान गर्छ । उदाहरणको लागि गाउँ–गाउँमा बाटो पुग्दा भरियाहरू बेरोजगार हुन्छन् भनेर बाटै नबनाए कसरी विकास हुन्छ ? एआई प्रविधि प्रयोगसम्बन्धी विशेष गरेर हाम्रोजस्तो मुलुकमा नयाँ शिक्षा नीतिको आवश्यकता देखिन्छ । शिक्षा सबैलाई सजिलै उपलब्ध हुनुपर्छ तर यस क्षेत्रमा सरकारी लगानी तथा दक्ष जनशक्तिको कमीले गर्दा पहाडका गाउँमा एक्काइसौँ शताब्दीमा पनि धेरै बालबालिका शिक्षाबाट वञ्चित भएका छन् । डिजिटल सञ्जालमार्फत पनि पहाडको कुनाकाप्चामा शिक्षा सेवा पु¥याउन सकिन्छ । यसको लागि डिजिटल कनेक्टिभिटीको आवश्यकता हुन्छ ।
सरकारले शिक्षा क्षेत्रमा गर्ने लगानी सीमित नै हुन्छ, कुनै पनि देशमा असिमित स्रोत–साधन हुँदैन । एआईको प्रयोगले सीमित स्रोत–साधनको कुशल तरिकाले चलाउन सकिन्छ । साथै राम्रो जतिजा पनि हासिल गर्न सकिन्छ । विशेष गरेर सरकारी विद्यालयहरूमा स्रोत र साधनको कमीले गर्दा शैक्षिक स्तर खस्कँदै गएको सबैलाई जानकारी नै छ । निजी विद्यालहरूको सन्दर्भमा सरकारले केही आवश्यक नीति–नियमहरू ल्याउनु पर्छ, ता कि निजी विद्यालयहरू व्यवसाय मात्र नबनून्, बाँकी कुराहरू स्वतन्त्र छोड्नु पर्छ । सरकारी विद्यालयहरूको स्तर उकास्ने विषय सरकारको मुख्य चासो हुनुपर्छ । अहिले डिजिटल प्रविधिको उच्च विकास तथा हरेक क्षेत्रमा एआईको प्रयोग बढ्दै गएको जमानामा आवश्यक नीति–नियमहरू ल्याई सरकारी विद्यालयहरूको स्तर उठाउन मद्दत गर्नुपर्छ । कुन तहको शिक्षामा कसरी एआई प्रयोग गर्ने इत्यादि विषयहरूमा स्पष्टता हुनुपर्छ । एआईको विकासले गर्दा ज्ञान, विज्ञान तथा सूचना प्राप्त गर्न धेरै सजिलो भएको छ ।
उच्च माध्यामिक तह तथा विश्व विद्यालयहरूमा धेरैजसो विषयहरूमा एआई प्रयोग गरी अन्य भौतिक स्रोत तथा साधनहरू घटाउन सकिन्छ । उच्च माध्यामिक तथा स्नातक तहका विद्यार्थीहरू स्वतन्त्र र स्वाभाविक हुन सक्ने क्षमता हुँदा यस तहका विद्यार्थीहरूलाई स्वन्त्र रूपमा एआई प्रयोग गर्न दिनुपर्छ । विद्यार्थीहरूले आफ्नो पढाइमा सहयोग पुग्ने गरी जस्तो खालको एआई प्रयोग गरे पनि हुन्छ, आखिरमा एउटा विद्यार्थीले के सिक्यो भन्ने कुरा त परीक्षाको नतिजाले देखाउँछ । परीक्षा प्रणालीमा पनि परिवर्तन गर्न आवश्य छ । उदाहरणको लागि एउटा विद्यार्थीले एआईको सहायता लिएर पढ्छ, उसलाई कुनै पनि विद्यालय वा विश्व विद्यालयसँग आबद्ध नभईकन पनि परीक्षामा सामेल हुने अवसर दिनुपर्छ । सरकारले छुट्टै परीक्षा लिने निकायको व्यवस्था गर्न सकिन्छ र त्यस निकायले डिग्री पनि प्रदान गर्न सक्ने व्यवस्था हुनुपर्छ । तर, प्राथमिक तथा माध्यामिक तहमा भने विद्यार्थीहरूलाई एआई प्रयोग गर्न दिनु हुन्न ।
बरु शिक्षकहरूले एआईलाई एउटा औजारको रूपमा प्रयोग गरेर आफ्नो क्षमता बृद्धि गर्न सकिन्छ । अहिलेको अवस्थामै एआईले बनाउने तस्बिर, भिडियोहरू साच्चैको तस्बिर, मिडियाबाट छुट्याउन गाह्रो छ । कसैले एआई प्रविधिबाट कसैले अनुहार तथा स्वर पनि दुरुस्तै मिल्ने भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरिदिए अरुले सजिलै पत्याउँछ, यस्तो अवस्थामा साँचो के हो, झुटो के हो छुट्याउन मुस्किल पर्छ । साइबर अपराधसम्बन्धी नीति–नियमहरू त पक्कै आवश्यक छ, तर यस्तो सामाजिक परिवर्तनलाई मध्यनजर राखी अहिलेदेखि नै प्राथमिक शिक्षामा बढी जोड दिनुपर्छ । साना–साना नानीहरूलाई प्राथमिक तहदेखि नै नैतिक शिक्षाको साथै स्वतन्त्र रूपमा सोच्ने बानी बसाउनुपर्छ । प्राथमिक तहमा घोकन्ते विद्याभन्दा बढी नैतिक शिक्षा, मातृभाषा तथा अंग्रेजी भाषाको साथै गणितजस्तो अत्यन्तै आधारभूत विषयहरूमा बढी जोड दिनुपर्छ । साना नानीहरूलाई मुख्यतः उनीहरूको अध्ययनप्रतिको रुचि बढाउने खालको शैक्षिक योजना तयार गर्नुपर्छ, ता कि उनीहरूको स्वतन्त्र रूपमा सोच्ने क्षमता बढाउन सकोस् । उनीहरू उच्च माध्यामिक तहसम्म पुग्दा आफैँले निर्णय गर्न सक्ने क्षमता राख्छन् र त्यसबेला एआईको सहायताले उनीहरू आफ्नै अग्रसरतामा उच्च शिक्षा हासिल गर्न सक्छन् । भविष्यमा एआई प्रयोग नगर्ने व्यक्तिले कुनै खालको रोजगारीमा मौका पाउने छैन । अहिलेको जमानामा देखेको कुरा पनि साँचो–झुटो छुट्याउन गाह्रो हुने अवस्थामा साना नानीहरू हुर्केर बाहिरी समाजसँग अन्तरक्रिया गर्नुअघि नै उनीहरूलाई मानसिक रूपमा तयार गर्नुपर्छ । यसको लागि विद्यालयको शिक्षा साथै घरको शिक्षा पनि अत्यन्तै महत्वपूर्ण हुन्छ । (लेखक सूचना प्रविधि जेनेरेसनविद् हुन् )