नेपालको परराष्ट्रनीतिमा कूटनीतिक विज्ञ यदुनाथ खनालको नाम अग्रपंक्तिमा आउँछ । स्वनामधन्य प्राडा. जयराज आचार्यले खनाल विषयक मोटो पुस्तक लेखेर ‘महेन्द्र डक्ट्रिन’का प्रतिपादक देखाउन खोज्नुभएको ठिकै पाठ्यक्रम हो । प्रदिप गिरि (नेपालका एक जानेमाने बौद्धिक राजनीतिक कर्मी)का साथ लागेर पंक्तिकारको पनि खनालसँग लामै छलफल विचारविमर्श भएको हो । निष्कर्षमा ‘नेपाल जोगिनुको मुख्य फ्याक्टर चीन हो’ भन्ने खनालको ठहर थियो । खनालको यो ठहर आचार्यको मोटो पुस्तकमा नआएको पाउँदा पंक्तिकारलाई अलिकति खिन्नता पनि महशुस हुन्छ ।‘नेपाल जोगीनुको चीन फ्याक्टर’ र ‘महेन्द्र डक्ट्रिन’ बारे अलिकति पाठ्यक्रम अघि सारेर प्रतिपाद्य विषय बालेन बाबुको भारत भ्रमणको गिरिजा पाठमा आउँछ ।नेपाल जोगिनुको चीन फ्याक्टरमा कुरो थाल्दा २००७ सालको परिवर्तनबाटै प्रारम्भ गर्नुपर्छ । २००७ सालको परिवर्तन भन्नासाथ दुई व्यक्ति निर्णायक चिनारीमा आउँछन् । पहिलो नाम राजा त्रिभुवन र दोश्रो नाम जननायक बीपी । ‘राणाको जेलबाट नेहरू (तत्कालीन भारतीय प्रधानमन्त्री)को जेलमा आइपुगेको छु’ त्रिभुवनले भनेका थिए । ‘सन् ५० को सन्धी हुँदा हामीलाई थाहै दिइएन’ बीपीको कथन हो । त्रिभुवन र बीपीका यी दुई वयानबाट २००७ साल फागुन ७ गते ‘प्रजातन्त्र दिवस’ नभएर ‘भारततन्त्र दिवस’ थियो भन्ने प्रमाणित हुन्छ । यो प्रमाण कतिखेर पुष्टि हुन्छ भने जब भारतले २००७ सालको लगत्तै अर्को वर्ष मातृका प्रसाद कोइराला (बीपीका सौतेला दाजु)लाई प्रधानमन्त्री बनाएर नेपालका पन्ध्र पहाडि जिल्लाका १८ ठाउँमा आफ्ना सैनिकपोस्ट खडा गरियो । यो भनेको नेपालको सार्वभौमिकतामाथि नाङ्गो बालात्कार थियो ।
२००७ साल यताको १९—१९ वर्षसम्म भारतको फलामे साङलोमा जकडिएको नेपालको सार्वभौमिकताको यो इतिहासलाई नेपालका प्राडाहरू किन पाठ्यक्रममा ल्याउदैनन् ? मैले पटक्कै बुझेको होइन या भनौं बल्ल अब बुझ्न थालेको छु ।विसं. २०२४ सालमा कोदारी राजमार्ग ल्याउनका लागि राजा महेन्द्रले माओत्सेतुङसँग भेटको लागि समय मिलाउन खगेन्द्रजंग गुरुङलाई चीन पठाउँदा ‘भारतको प्रदेशाध्यक्षसँग भेट गर्ने मसँग समय छैन’ भनेर फर्काइदिए । पछि महेन्द्रले नेपाल कसरी भारतको एउटा प्रान्त ? प्रश्न गर्दा ‘जबसम्म भारतीय सैनिक पोस्ट नेपालमा रहन्छन् त्यतिखेरसम्म मैले, चीनले मात्र होइन दुनीयाँका कुनै राष्ट्रले पनि नेपाललाई सार्वभौम ठान्न मान्न मिल्दैन’ भन्ने माओत्सेतुङको उत्तर थियो । माओत्सेतुङको यो उत्तरबाट राजा महेन्द्र झस्किए । (पुनर्जन्म भए) र चीन भारत युद्धमा भारत पराजीत भएको मनोविज्ञान छामेर माओत्सेतुङको आड लिएर विसं २०२७ सालमा ती सैनिक पोस्ट उखेलिए । यसैलाई ‘महेन्द्र डक्ट्रिन’ र ‘नेपाल जोगिनुको चीन फ्याक्टर’ भनिएको हो ।विसं. २०४८ सालको आम निर्वाचनबाट कांग्रेसले बहुमत ल्याएर प्रधानमन्त्री भएका गिरिजा प्रसाद कोइरालाको परम्पराअनुसार पहिलो विदेश भ्रमण भारतको भयो । त्यो परम्परा आजसम्म कसैले तोड्न आँट गरेका छैनन् । प्रधानमन्त्री बालेन शाहको दुई वर्षसम्म विदेश भ्रमण नगर्ने समाचार प्रचारमा आएबाट त्यो परम्परा तोडिने अपेक्षा गरिएको थियो । तर स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नै भ्रमणको निम्तो दिएपछि पहिलो भ्रमण परम्परा नसोचेर भारत जानैपर्छ ।
भारतमा नेपाललाई हेर्ने दुइटा शक्ति छन् । एउटा नेहरू लिगेसीको इन्दिरा गान्धीदेखि सोनिया गान्धी, राहुल गान्धीसम्मको नेपाललाई सिक्किमीकरणको शक्ति । प्रधानमन्त्री इन्दिरा गान्धीले सैनिक गुप्तचर संस्था ‘रअ’का प्रमुख रामेश्वरनाथ काओलाई सिक्किम विलयको लिखित आदेश दिँदा सिक्किम विलय लगत्तै पछि नेपालको तराई भाग भारतमा गाभ्नु भन्ने व्यहोरा ‘रअ’कै पूर्व हाकिमबाट दशीप्रमाण सार्वजनिक भइसकेकै छ । एउटा शक्ति यो भइहाल्यो भने अर्को शक्ति महात्मा गान्धी, डा. राममनोहर लोहिया, जयप्रकाश नारायण आदि इत्यादिको छ । जुन शक्तिअनुसार भारतको तुलनामा नेपाल भूमि र जनसंख्याका दृष्टिले धेरै सानो छ । कुनै पनि विकासको मोडलको छिटो र छरितो प्रयोग गरेर चाडै सफलतामा पुग्न सकिन्छ । जुन भारतको भूमि र जनसंख्याको हिसाबले त्यति चाँडो सफल हुँदैन । त्यसोहुँदा भारतले नेपालको प्रगति र उन्नतिका लागि सहयोग पु¥याउनुपर्छ र नेपालको त्यो प्रगति र उन्नतिको नमूना उदाहरणबाट पाठ सिक्नुपर्छ ।यो दुइटै दृष्टिकोण भारतमा शक्तिशाली छ । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी, लोहिया जयप्रकाश नारायणधारका भए पनि अमेरिकाले ‘नेहरू डक्ट्रिन’ (नेहरू डक्ट्रिन के हो भन्ने बारे यसै स्तम्भका गत अंकहरूमा विस्तृत पाठ्यक्रम अभिलेख गरिसकेको हुनाले यहाँ दोहो¥याउन चाहन्न) का शक्तिलाई उचालेर हैरान पारिदिने गरेकाले नेपाल हेर्ने लोहिया, जयप्रकाश नारायण दृष्टिकोण दिमागमा पु¥याउन भ्याइरहेका छैनन् । प्रधानमन्त्री बालेन्द्र शाहले परम्परा तोड्ने नाममा प्रथम भारत भ्रमण आनाकानी गर्नुको साटो मोदीलाई भेटेर भारतको नेपाल हेर्ने ‘नेहरू डक्ट्रिन’मा ‘कोर्स करेक्सन’ आवश्यक र अनिवार्य ठाउँमा आइपुगेको सम्झाउन सक्नुपर्छ भन्ने पंत्तिकारको सहृदयी सल्लाह छ ।
अब आऊँ प्रधानमन्त्री बालेन्द्र शाहले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले गरेको पहिलो भारत भ्रमणको नियत, नियति र परिणामबाट सिक्नुपर्ने अनिवार्य पाठ्यक्रमका विषयमा । यो विसं. २०४८ को चुनावमा नेपाली कांग्रेसको प्रष्ट बहुमत आएर गिरिजाप्रषाद कोइराला प्रधानमन्त्री भएका ६ महिनाभित्र (तिथिमिति खोज्दा भेटिन्छ) भारत भ्रमणमा गएका बखतको कुरो हो । गिरिजा भारत जाँदा पत्रकार हरिहर विरही (सहिद राम लक्ष्मणका साथी, बीपीलाई छोडेर परशुनारायण चौधरीका पछि पछि चारपाते पत्रिकाका (लेटर प्रेसको जमाना) लागि २०० विज्ञापन पाउन कुदिरहेका बखतदेखि म उनलाई न्वारानदेखि चिन्दछु । अहिले कहाँ के गरिरहेका छन् थाहा भएन) । उनै हरिहर विरही माध्यम भएरमात्र यो तथ्य (नियत र नियति) पाठ्यक्रम बन्न पाएको हो र एउटा कुरा भनिहालौँ, आज मुलुकमा राजावादी, एमाले कांग्रेसवादी, माओवादी, मधेसवादी स्वतन्त्र दावेदारहरू जति पनि प्राडाहरू छन् कसैले पनि यो तथ्यलाई पाठ्यक्रममा ल्याएका छैनन् । किन लुकाएका हुन् त्यसको नालीबेली पत्ता लगाउन आजका जेनजी पुस्ताहरूलाई नै छोड्छु । कति चाहिं किटेर भन्छु भने आज राजा ज्ञानेन्द्रले भनेको जस्तो ‘दलदलको खलबलमा परेर समस्याहरूको चाङमाथि संकटग्रस्त’ मुलुकको जुन दुर्भाग्य दुर्गति झेलिरहनु परेको छ, गिरिजाको त्यही पहिलो भारत भ्रमणबाट बीजारोपण भएको हो । त्यो कसरी हुर्कियो र झाङ्गियो भन्ने सन्दर्भमा वीरेन्द्र वंशनाशदेखि मदन भण्डारीको हत्या प्रकरणलगायत महाभारत वर्णन यहाँ सम्भव हुन्न ।
राजधानी क्षेत्रपाटी चाक्सीबारी स्थित गणेश्मान सिंह निवासमा भारतका सत्ताधारी प्रमुख प्रतिपक्ष दल भूतपूर्व प्रधानमन्त्रीलगायत १२ पार्टीका ठूला–ठूला नेताहरू आएर राजा वीरेन्द्रलाई तर्साएर आएको ०४६ सालको बहुदलमा जे पनि गराउन सक्ने भारतको ठम्माइ हुँदा टनकपुरमा नेपालको अनुमति बेगर अतिक्रमण गरेको थियो । नेपाल पक्षसंग सूचना नै नभइ नेपाल भूमिमा भारतको खर्बौँको लगानी भइसकेको थियो । त्यसमा गिरिजाले हस्ताक्षर गरिदिए । ‘नियत’ र ‘नियति’ प्रसङ्ग यहीँ नेरी सान्दर्भिक हुन्छ । हरिहर विरही साक्षी छन् भारतले गिरिजालाई सोधेको थियो— ‘तपाईँहरूको संविधानले त यस खालको सन्धी गर्न दुईतिहाइ बहुमत चाहिन्छ, त्यो जुटाउन सक्नुहुन्छ ?’ त्यसमा गिरिजाले भनेका थिए— ‘तपाईँहरू ढुक्क हुनुहोस् । म सामान्य बहुमतले पनि पास गराइ हाल्छु ।’यो तथ्य कसरी सुराकी भयो भने गिरिजासंग भारत भ्रमणबाट फर्किएका हरिहर विरहीसंग त्रिभुवन एयरपोर्टमा नेपाल टेलिभिजनका पत्रकारले सोधेको प्रश्नमा टनकपुर सम्झौता (पछि समझदारी) भएको सार्वजनिक भइसकेको नै उत्तर दिए । त्यसमा पत्रकार क्रस प्रश्न गर्छन् ‘के सम्झौता भएको छ ?’ हरिहर विरही उत्तर दिन्छन्— ‘त्यो त भन्न मिल्दैन ।
’ नेपाल भारतबीच भएको सम्झौतामा के त्यस्तो भन्न नमिल्ने कुरो रहेछ भन्ने भर्खर उदयमान रहेका वकिल बालकृष्ण न्यौपानेमा जिज्ञासा खुलदुली भयो । आफ्नो त्यो खुलदुली मेट्न वकिल न्यौपाने त्यो बखतका कृष्णप्रषाद भण्डारी पछिका सर्वाधिक हाइटका वकिल बीपीका साढुभाइ गणेशराज शर्माकहाँ पुगे । वकिल गणेशराजले न्यौपानेलाई अ¥हाउनुभयो- ‘गिरिजाले टनकपुरमा ढाँटेर राष्ट्रघात गरेको छ । सर्वोच्चमा मुद्दा हाल ।’ वकिल न्यौपाने फुर्तिला । गएर मुद्दा हालिहाले र जिते । त्यही मुद्दा जितेकै कारण आज वकिल न्यौपानेलाई नवजागरण समाजमा चौतर्फी हाइहाइ छन् । गिरिजा त्यही हारको रन्कोमा आफ्नो बहुमतको एकलौटी सरकार लत्याएर ‘दुईतिहाइ ल्याएर टनकपुर पास गर्छु’ भन्दै मध्यावधिमा गए । ०४६ का सर्वमान्य कमान्डर गणेशमान सिंहले ‘गिरिजा हराउ अभियान’ चलाएका कारण मतदाताले ठेगाना देखाइदिए । एमाले पहिलो शक्ति भएर कांग्रेस दोश्रो शक्ति भयो । ०४८ को निर्वाचनमा चार सिटमा थन्किएको मध्यावधिमा २० सिट ल्याएर सत्ताको साँचो राप्रपाको हातमा पुग्यो । पूर्व पञ्च प्रधानमन्त्री सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द पालो पालो प्रधानमन्त्री हुन थाले । ३५ वर्षका बालेन शाहलाई यसपछिका दलहरूको भाँडभैलो खलबल समस्यै समस्याको चाङ संकट साक्षातकार अध्ययन भइसकेकै छ । ‘गिरिजा पाठ’ को यो अध्याय अनिवार्य अवगत हुनुपर्ने देखिँदा लुकाइएको यति तथ्य उजगारमा जाँगर गरेका हुँ । अस्तु ।