काठमाडौं । प्रहरीले निर्माण व्यवसायी रमेश शर्मा र पीताम्बर बडुलाई नियन्त्रणमा लिएको छ । समयमै निर्माण कार्य सम्पन्न नगरेको आरोपमा सहरी विकास मन्त्रालयको पत्रका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।पक्राउ पर्नेमा शर्मा एन्ड कम्पनीका सञ्चालक रमेश शर्मा तथा लामा कन्स्ट्रक्सनका पीताम्बर बडु रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई काठमाडौंको गोङ्गबु क्षेत्रबाट नियन्त्रणमा लिएर सहरी विकास मन्त्रालयमा उपस्थित गराएको जनाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार आफूहरूले लिएको ठेक्का तोकिएको समयभित्र सम्पन्न नगरेको विषयमा मन्त्रालयले आवश्यक कारबाहीका लागि प्रहरीलाई पत्राचार गरेको थियो । सोही आधारमा दुवै व्यवसायीलाई नियन्त्रणमा लिएर मन्त्रालयमा उपस्थित गराइएको उनले बताए । उनीहरूमाथि ठेक्का सम्झौता कार्यान्वयन नगरेको तथा निर्माण कार्यमा ढिलासुस्ती गरेको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।