काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार यस वर्ष ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । यद्यपि, नतिजा केहीबेरपछि मात्रै वेबसाइटमार्फत हेर्न सकिने जानकारी बोर्डले दिएको छ ।
यस वर्षको एसईई परीक्षा गत चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन गरिएको थियो । परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गरिएको कारण अघिल्ला वर्षको तुलनामा छिटो नतिजा सार्वजनिक गर्न सम्भव भएको बोर्डले जनाएको छ ।
एसईई परीक्षाका लागि यस वर्ष कुल ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । जसमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना विद्यार्थी सहभागी भएका थिए ।
परीक्षार्थीमध्ये २ लाख ५७ हजार ६१३ जना छात्रा, २ लाख ५४ हजार ८०१ जना छात्र तथा अन्य ७ जना रहेको बोर्डले जनाएको छ ।
विद्यार्थी तथा अभिभावकहरू नतिजाको प्रतीक्षामा रहेका बेला बोर्डले सार्वजनिक गरेको यस नतिजाप्रति देशभर चासो बढेको छ ।