काठमाडौं । पछिल्लो समय मूल्य वृद्धि अर्थात् मुद्रास्फीति उच्च रूपमा बढेको देखिएको छ । अर्थशास्त्रको भाषामा मुद्रास्फीति भनेको मुद्राको क्रमशक्ति घट्नु हो । यसको अर्थ वस्तु तथा सेवाको मूल्य बढ्नु र मुद्राको मूल्य घट्नु अर्थात् थोरै वस्तु तथा सेवा खरिद गर्नको लागि पनि धेरै रकम आवश्यक पर्नु हो ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको पछिल्लो नौ महिना अर्थात् चैत मसान्तसम्मको प्रतिवेदनअनुसार २०८२ चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति तीन दशमलव ३९ प्रतिशत थियो । राष्ट्र बैंकको यही तथ्यांकका आधारमा पनि पछिल्लो समय मूल्यवृद्धि बढेको देखिएको हो । यस अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति चार दशमलव शून्य एक प्रतिशत रहेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति चार दशमलव ७२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः दुई दशमलव ४५ प्रतिशत र तीन दशमलव ९० प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०८२/८३ को नौ महिनाको औसत मुद्रास्फीति दुई दशमलव ३९ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही अवधिको औसत मुद्रास्फीति चार दशमलव ५७ प्रतिशत रहेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको पछिल्लो नौ महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १२ दशमलव ८७ प्रतिशत, फलफूलको ११ दशमलव ६७ प्रतिशत, तरकारीको नौ दशमलव १८ प्रतिशतले बढेको छ । दाल तथा गेडागुडी उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क दुई दशमलव ७८ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको एक दशमलव ६८ प्रतिशत र मरमसलाको एक दशमलव ६४ प्रतिशतले घटेको छ । गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १९ दशमलव ९४ प्रतिशत, यातायातको १२ दशमलव शुन्य तीन प्रतिशत, शिक्षाको सात दशमलव ४६ प्रतिशत, मदिराजन्य पेय पदार्थको चार दशमलव ७७ प्रतिशत र कपडा तथा जुत्ताचप्पलको चार दशमलव ७३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा ग्रामीण क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क तीन दशमलव ७१ प्रतिशतले र सहरी क्षेत्रको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क चार दशमलव ७४ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशकोे वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ९८ प्रतिशत, मधेश प्रदेशको चार दशमलव ९१ प्रतिशत, बागमती प्रदेशको चार दशमलव २० प्रतिशत, गण्डकी प्रदेशको तीन दशमलव ८५ प्रतिशत, लुम्बिनी प्रदेशको पाँच दशमलव १५ प्रतिशत, कर्णाली प्रदेशको तीन दशमलव ८२ प्रतिशत र सुदूरपश्चिम प्रदेशको तीन दशमलव ३९ प्रतिशत रहेको छ ।
प्रतिवेदनअनुसार चालू आवको पछिल्लो नौ महिनामा काठमाडौं उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ६९ प्रतिशत, तराईको चार दशमलव ८३ प्रतिशत, पहाडको चार दशमलव १८ प्रतिशत र हिमालको तीन दशमलव २० प्रतिशत रहेको छ । यसैगरी २०८२ चैत महिनामा वार्षिक विन्दुगत थोक मुद्रास्फीति तीन दशमलव ९२ प्रतिशत रहेको छ । अघिल्लो वर्षकोे सोही महिनामा यस्तो मुद्रास्फीति चार दशमलव २० प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति पाँच दशमलव ६० प्रतिशतले ऋणात्मक रहेको छ भने मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः नौ दशमलव ९५ प्रतिशत र चार दशमलव १४ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मूल्य सूचकाङ्क एक दशमलव ९७ प्रतिशतले बढेको छ ।
आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासमा वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्क छ दशमलव ३० प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो सूचकाङ्क दुई दशमलव ६० प्रतिशतले बढेको थियो । प्रदेशगत रूपमा समीक्षा अवधिमा कोशी प्रदेशकोे वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्कको वृद्धिदर आठ दशमलव ४५ प्रतिशत, मधेश प्रदेशको तीन दशमलव ७५ प्रतिशत, बागमती प्रदेशको पाँच दशमलव शून्य तीन प्रतिशत, गण्डकी प्रदेशको १० दशमलव ४० प्रतिशत, लुम्बिनी प्रदेशको आठ दशमलव ५४ प्रतिशत, कर्णाली प्रदेशको एक दशमलव १५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको पाँच दशमलव ८३ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०८२ चैत महिनामा नेपालको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति चार दशमलव ४७ प्रतिशत हुँदा सन् २०२६ मार्च महिनामा भारतमा यस्तो मुद्रास्फीति तीन दशमलव ४० प्रतिशत मात्र रहेको छ । यसको अर्थ नेपालमा भन्दा भारतमा वस्तु तथा सेवाको मूल्य कम रहेको देखिएको छ ।
१६ खर्ब ५९ अर्ब रुपैयाँ रेमिट्यान्स
वैदेशिक रोजगारीबाट प्राप्त हुने आय अर्थात् रेमिट्यान्स रकम बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको नौ महिनाको प्रतिवेदनअनुसार विप्रेषण आप्रवाह अर्थात् रेमिट्यान्स ३९ दशमलव एक प्रतिशतले बढेर १६ खर्ब ५९ अर्ब ४१ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १० दशमलव दुई प्रतिशतले बढेको थियो । २०८२ चैत महिनामा विप्रेषण आप्रवाह दुई खर्ब नौ अर्ब ७५ करोड रहको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ३९ अर्ब ५४ करोड रहेको थियो । समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३१ दशमलव नौ प्रतिशतले बढेर ११ अर्ब ५५ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह सात दशमलव पाँच प्रतिशतले बढेको थियो ।
राष्ट्र बैंकका अनुसार चालू आवको नौ महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) १८ खर्ब २० अर्ब ४२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १३ खर्ब तीन अर्ब १२ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या दुई लाख ९४ हजार एक सय ८६ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ९३ हजार दुई सय ५९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः तीन लाख ५८ हजार दुई सय २२ र दुई लाख४९ हजार छ सय ५२ रहेको थियो ।
३४ खर्ब ९४ अर्ब नाघ्यो विदेशी मुद्रा सञ्चिति
विदेशी मुद्राको सञ्चिति बढेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको नौ महिनाको प्रतिवेदनअनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३० दशमलव पाँच प्रतिशतले बढेर २०८२ चैत मसान्तमा ३४ खर्ब ९४ अर्ब ७३ करोड पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ चैत मसान्तमा २० दशमलव आठ प्रतिशतले बढेर २३ अर्ब ५५ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ चैत मसान्तमा २७ दशमलव सात प्रतिशतले बढेर ३० खर्ब ८२ अर्ब ४१ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब चार करोड रहेकोमा २०८२ चैत मसान्तमा ५६ दशमलव आठ प्रतिशतले बढेर चार खर्ब १२ अर्ब ३२ करोड कायम भएको छ । २०८२ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २० दशमलव चार प्रतिशत रहेको छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को नौ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१ महिना आठ दिनको वस्तु आयात र १८ महिना चार दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५७ दशमलव दुई प्रतिशत, एक सय ५३ दशमलव एक प्रतिशत र ४१ दशमलव दुई प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।
खुद सेवा आय ६७ अर्बले घाटामा
मुलुकको खुद सेवा आय घाटामा देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको नौ महिनाको प्रतिवेदनअनुसार खुद सेवा आय ६७ अर्ब ५४ करोड रुपैैयाँले घाटामा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६७ अर्ब ४५ करोड रुपैयाँले घाटामा रहेको थियो । सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय तीन दशमलव आठ प्रतिशतले कमी भई ६४ अर्ब १० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ६६ अर्ब ६६ करोड रुपैयाँ रहेको थियो ।
प्रतिवेदनअनुसार चालू आवको नौ महिनाको अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय दुई दशमलव छ प्रतिशतले घटेर एक खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय एक खर्ब १२ अर्ब ८४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय एक खर्ब ६९ अर्ब ८४ करोड रहेकोमा शिक्षातर्फको व्यय एक खर्ब तीन अर्ब ७९ करोड रहेको थियो ।
चालू खाता छ खर्ब १८ अर्ब रुपैयाले बचतमा
मुलुकको चालू खाता बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थासम्बन्धी चालू आर्थिक वर्षको नौ महिनाको प्रतिवेदनअनुसार चालू आवको पछिल्लो नौ महिनाको अवधिमा चालू खाता छ खर्ब १८ अर्ब ६८ करोडले बचतमा देखिएको हो । अघिल्लो वर्षको सोही अवधिमा चालू खाता दुई खर्ब २२ अर्ब ६७ करोडले बचतमा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ६४ करोडले बचतमा रहेको चालू खाता समीक्षा अवधिमा चार अर्ब ३२ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर सात अर्ब ७१ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १४ अर्ब ५५ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) आठ अर्ब ९४ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति पनि सात खर्ब ३१ अर्ब १६ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति तीन खर्ब ४६ अर्ब २३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा दुई अर्ब ५५ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा पाँच अर्ब १० करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।