लन्डन । बेलायतले युक्रेन युद्धसँग सम्बन्धित रुसी ‘सूचना युद्ध अभियान’ विरुद्ध नयाँ प्रतिबन्ध घोषणा गर्दै मस्कोमाथि दबाब थप कडा बनाएको छ । बेलायती सरकारले सोमबार सार्वजनिक गरेको प्रतिबन्ध प्याकेजले रुसी प्रचार संयन्त्र, विदेशी चुनावमा कथित हस्तक्षेप तथा युक्रेनी बालबालिकाको जबरजस्ती स्थानान्तरणमा संलग्न व्यक्ति र संस्थाहरूलाई लक्षित गरेको छ ।
नयाँ प्रतिबन्धअन्तर्गत ८५ व्यक्ति तथा संस्थामाथि कारबाही गरिएको बेलायतले जनाएको छ । तीमध्ये करिब दुई तिहाइ व्यक्ति र संस्था रुसको कथित प्रचार तथा प्रभाव विस्तार अभियानसँग जोडिएका बताइएको छ । बेलायतका अनुसार ती गतिविधिमा विदेशी लोकतान्त्रिक प्रक्रियामा हस्तक्षेप गर्ने प्रयाससमेत समावेश छन् । लन्डनले हालै आर्मेनियाको आगामी चुनावलाई प्रभाव पार्ने उद्देश्यले रुस समर्थित अभियान सञ्चालन गरिएको आरोप लगाएको छ ।
प्रतिबन्ध सूचीमा ‘सोसल डिजाइन एजेन्सी’ (एसडीए)सँग सम्बन्धित ४९ जना व्यक्तिलाई पनि समावेश गरिएको छ । बेलायत सरकारका अनुसार उनीहरू लेखक, अनुवादक तथा भिडियो निर्माता हुन्, जसले ‘भ्रामक क्रेमलिन प्रचार सामग्री’ तयार पार्ने कार्य गरेका थिए । बेलायतले यसअघि पनि सन् २०२४ को अक्टोबरमा राज्य–समर्थित एसडीए र त्यसका वरिष्ठ कर्मचारीहरूमाथि प्रतिबन्ध लगाएको थियो । त्यसबेला अन्य दुई समान संस्थालाई समेत लक्षित गरिएको थियो ।
बेलायतको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा एसडीएलाई क्रेमलिनले लोकतान्त्रिक संरचना कमजोर बनाउने तथा युक्रेनप्रतिको अन्तर्राष्ट्रिय समर्थन कमजोर पार्ने उद्देश्यले हस्तक्षेपकारी अभियान सञ्चालन गर्न निर्देशन र आर्थिक सहयोग दिएको दाबी गरिएको छ । वक्तव्यमा ती गतिविधि ‘रुसी राष्ट्रपति प्रशासनसँग प्रत्यक्ष रूपमा सम्बन्धित रहेको लगभग निश्चित’ भएको उल्लेख गरिएको छ । साथै आर्मेनियामा रुस समर्थक सङ्गठन स्थापना गर्ने र राजनीतिक शक्ति सन्तुलनलाई मस्को समर्थक धारतर्फ मोड्ने प्रयास भएको आरोपसमेत लगाइएको छ ।
सोमबार घोषणा गरिएको प्रतिबन्ध प्याकेजको करिब एक तिहाइ हिस्सा युक्रेनी बालबालिकासँग सम्बन्धित मुद्दामा केन्द्रित रहेको छ । बेलायतले यसलाई ‘युक्रेनी बालबालिकाको जबरजस्ती निर्वासन र सैन्यीकरण गर्ने रुसको व्यवस्थित अभियान’ भनेको छ । प्रतिबन्ध सूचीमा ‘वारियर सेन्टर’ नामले चिनिने ‘सेन्टर फर मिलिटरी स्पोट्र्स ट्रेनिङ एन्ड प्याट्रियोटिक एजुकेशन अफ युथ’ पनि परेको छ ।