गणतान्त्रिक संविधानअनुसार पहिलो र तेस्रो आम निर्वाचनमा संसद्मा कुनै दलको पक्षमा दुईतिहाइ मत देखियो । पहिलोमा विचार मिल्ने दलको एकताबाट र तेस्रोमा कुनै एकल दलको नै यस्तो मत आयो । तर दुईतिहाइ प्राप्तवाला यी दुवैले संसद्को गरिमा थाम्न वा राख्न सकेनन् । पहिलोले त्यो कार्यकालको उत्तरार्ध लाग्नासाथ विचित्रको व्यवहार गर्न थाल्यो । त्यसको उदाहरण हो दुई–दुईपटकको संसद् विघटन । तेस्रो आम निर्वाचनपछिको सरकारले त झन् महिना दिन नपुग्दै र पहिलो अधिवेशबाटै त्यस्तो व्यवहार देखाउन थालेको देखियो जो संसारभरिकै प्रचलित संसदीय व्यवस्था अनुकूल थिएन । यस्ता काम आ–आफ्ना कालका प्रधानमन्त्री अर्थात् संसद्कै नेताबाट भए र भई नै रहेका छन् । यसले यो पछिल्लो दुईतिहाइको बहुमतले यो कार्यकाल सकिन लाग्दा नलाग्दै संसद्ले कस्तो हुर्मत लिनेहो भन्ने अनुमान गर्न पनि गाह्रो हुँदैछ । यो पटकको दुईतिहाइको सरकारका प्रमुखले आफ्नो पहिलो वर्षको नीति र कार्यक्रम ल्याउँदै संसदीय व्यवस्थाप्रति अरुचिको गम्भीर स्वरूप देखायो जुन यो व्यवस्था अवलम्बन गरेका संसारभरिकै र नेपालका लागि पनि पहिलो थियो । चालू संसद्को दोस्रो अधिवेशनको पहिलो दिन राष्ट्रपतिले संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभाको दुवै सदनको संयुक्त बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम वाचन गरिरहेका थिए । यो कार्यक्रम स्वयं प्रधानमन्त्रीले नै राष्ट्रपतिलाई बुझाएका हुन् । यो कार्यक्रमको सरकार आफैँले प्रत्यक्ष प्रसारण पनि गरिरहेको थियो । त्यही दृश्यमा आम नागरिकबाट देखिएअनुसार यसैबेला प्रधानमन्त्री बीचमै उठेर त्यसतर्फ पीठ फर्काएर बाहिरिए । अवस्था कतिसम्म भने यो सभामा उपस्थित सबै राष्ट्रिय पोषाकमा थिए भने प्रधानमन्त्री एक्लो त्यस्तो पोषाकमा सजिएका थिए जो हेर्दा नै अडलाग्दो देखियो । त्यसैकारण यसलाई संसदीय व्यवस्थामा नमुना नै मानिएको योभन्दा भद्दा र अशोभनीय भनेर सामाजिक सञ्जालमा प्रतिक्रियाको ओइरो नै लाग्यो । ती मध्येको एउटा फेसबुकमा आएको स्टाटसमा लेख्दै प्रधानमन्त्री बालेनलाई राष्ट्रपतिभन्दा माथि र रास्वपाभन्दा माथि विराजमान भएकामा बधाइ दिइएको थियो । त्यसमा भनिएको छ, राष्ट्रपतिले प्रधानमन्त्रीलाई सचेत गराउन वा राष्ट्रपति पदबाट राजीनामा दिएर पदको लाज जोगाउन आग्रह गर्नुपर्छ । रास्वपामा प्रधानमन्त्री बालेन र रवि लामिछाने गरी दुई जनामात्र स्वतन्त्र सांसद रहेको आफूलाई लागे पनि घटनापछि अब रास्वपा र राष्ट्रपतिभन्दा पनि माथि एकमात्र सांसद बालेन रहेको देखियो । यो व्यवस्थाप्रतिको विकल्पको रूपमा जनताले रास्वपालाई मत दिएका होइनन् । यो व्यवस्था सुधार गरेर मजबुद गराउन मत दिएका हुन् ।
अझ दुःखद् पक्ष के हो भने, भरखर व्यापक जनमत पाएको दलले यो रूपमा स्वतन्त्रता र प्रजातान्त्रिक संस्कारमाथि प्रहार हुँदा यो दलका सांसद र केन्द्रीय सदस्य तथा पदाधिकारीहरूले एक शब्दको प्रतिक्रिया दिन सकेनन् । यसैलाई देखेर होला सामाजिक सञ्जालमा रास्वपामा प्रधानमन्त्री बालेन र रवि लामिछाने गरी दुई जनामात्र स्वतन्त्र सांसद रहेको आफूलाई लागेको भनेर बताइएको हुनुपर्छ । अझ यो ठाउँमा त सत्तारुढदलका सभापति नै स्वतन्त्र रहेनछन् भन्ने देखियो । त्यसै पनि अहिलेको संविधान गणतन्त्रात्मक व्यवस्थाअनुसारको हो । यो व्यवस्थामा राष्ट्रपतिको सम्बोधनलाई संसद्मा सबैभन्दा महत्वको मानिन्छ । संविधानको संरक्षक पनि राष्ट्रपति नै हुन् । यस्तो पदाधिकारीलाई प्रधानमन्त्रीजस्तो देशको कार्यकारी प्रमुखले नै सार्वजनिक रूपमा नै देखिने गरी अपमान गर्छन् भने त्यो राष्ट्रका लागि कति सह्य होला भन्ने प्रश्न गम्भीर छ । त्यसै पनि यो बेला प्रधानमन्त्री आफैँ राष्ट्रिय पोशाकमा थिएनन् । यस्तो अवस्था कि उनले होस्मा नरहेको बेला प्रकट गरे कि जानीजानी यसो गरेर केही सन्देश दिन खोजिरहेका छन् जो अहिलेको पद्धति अनुकूल देखिँदैन । यसअघि पनि यो संसद्मा बोलेर कुनै काम छैन भनेर यो ठाउँमा बोल्दै नबोल्ने नजीर त कायम गरिसेककै थिए ।