वादी समुदायको भावनामाथि चोट पुगेको भन्दै चलचित्र लालीबजार को प्रदर्शन रोक्न माग गर्दै अदालत पुगेकी अभियन्ता डा. रोशनी नेपाली पक्राउ परेकी छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बुधबार सर्वोच्च अदालत परिसरमै हुलहुज्जत गरेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। परिसरका प्रवक्ता एसपी पवनकुमार भट्टराई ले रोशनीलाई नियन्त्रणमा लिएर सिंहदरबार वृत्तमा राखिएको जानकारी दिएका छन्।
डा. रोशनी नेपालीले चलचित्र ‘लालीबजार’ प्रदर्शन रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दायर गरेकी थिइन्। उक्त निवेदनमाथि बुधबार न्यायाधीशद्वय विनोद शर्मा र श्रीकान्त पौडेल को इजलासमा सुनुवाइ भएको थियो। सुनुवाइ सम्पन्न भए पनि आदेश आउन बाँकी रहेको अदालत स्रोतले जनाएको छ।
यसअघि उच्च अदालत पाटन ले चलचित्र प्रदर्शनमा रोक लगाउँदै अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। तर पछि दुवै पक्षबीचको छलफलपछि अदालतले उक्त आदेश खारेज गरेसँगै चलचित्र प्रदर्शन पुनः सुरु भएको थियो। त्यसपछि उच्च अदालतको आदेशविरुद्ध डा. रोशनी नेपाली सर्वोच्च अदालत पुगेकी हुन्।
रोशनीको दाबी अनुसार चलचित्रका केही दृश्य तथा संवादले वादी समुदायको भावनामा चोट पुर्याएको छ। त्यसैले सामाजिक सद्भाव र समुदायको सम्मानका लागि चलचित्र प्रदर्शन रोक्नुपर्ने उनको माग छ।
यता चलचित्र निर्माण पक्षले भने चलचित्रमा कुनै समुदायलाई लक्षित गरेर अपमान गर्ने उद्देश्य नरहेको दाबी गर्दै आएको छ। उनीहरूले चलचित्रलाई गलत रूपमा व्याख्या गरिएको बताउँदै प्रदर्शन रोक्नुपर्ने कुनै आधार नरहेको जिकिर गरेका छन्।