काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिनिधि सभामा विपक्षीहरूले सदन अवरुद्ध गरेका छन् ।
प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई बुधबार बसेको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल सुरु गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने अनुमति दिएपछि त्यसको विरोध गर्दै विपक्ष दलका सांसदहरूले बैठक अवरुद्ध गरेका हुन् ।
पटक पटक सभामुख डोलप्रसाद अर्यालले बस्न आग्रह गर्दा पनि सांसदहरूले आपत्ति जनाइरहेका छन् । यसैबिच प्रधानमन्त्री साह नआइकन नीति तथा कार्यक्रममाथि छलफल हुन नसक्ने भन्दै श्रम संस्कृति पार्टी संसद् छोडेर बाहिरिएको छ ।
बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले आ–आफ्नो धारणा राखेका छन् । सभामुखले समय दिएपछि सांसदहरूबिच सवाल जवाफ भइरहेको छ । प्रधानमन्त्री उपस्थित हुन नसकेको अवस्थामा तोकेको मन्त्रीले जवाफ दिने व्यवस्था प्रतिनिधि सभाको नियमावलीमा रहेको छ ।