काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले तत्काल फोरजी सेवा पूर्ण रूपमा बन्द गरेर फाइभजीमा जाने अवस्था नरहेको बताएका छन् ।
मन्त्रालयमा आयोजित कार्यक्रममा उनले पहिलो चरणमा फोरजीलाई अधिकतम प्रभावकारी बनाउने र दोस्रो चरणमा फाइभजी कार्यान्वयन गर्ने तयारी भइरहेको जानकारी दिए । फाइभजी सेवा सुरु गर्ने कार्य सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ । त्यसका लागि आवश्यक फ्रिक्वेन्सी निर्धारण तथा वितरणसम्बन्धी प्रक्रियासमेत अगाडि बढाइएको उनले बताए । उनले दूरसञ्चार क्षेत्र, सूचना प्रविधि तथा सञ्चार क्षेत्रमा सुधारका कामहरू सुरु गरिसकेको जानकारी दिए । तत्काल गर्न सकिने सुधारका कामहरू सुरु गरी नतिजासमेत देखिन थालिसकेको उनको दाबी छ । दीर्घकालीन सुधारका लागि पर्याप्त गृहकार्यसहित विषयगत रूपमा अध्ययन भइरहेको उनले बताए ।
मन्त्री तिमिल्सिनाले दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन थप मोबाइल अपरेटरलाई अनुमति दिने विषयमा पनि सरकारले अध्ययन गरिरहेको जानकारी दिए । आवश्यकताका आधारमा चाँडै निर्णय गर्ने उनको भनाइ छ । हाल दुईवटा कम्पनीले यस्तो सेवा दिइरहेकोमा तेस्रो मोबाइल अपरेटरका लागि सम्भावना र आवश्यकता पहिचानसहितको प्रक्रिया अगाडि बढाइएको उनले बताए । नेपाल टेलिकमलाई बलियो बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनताको हितमा उपयोग गर्ने तथा क्षेत्रलाई सुदृढ बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले नेपाल टेलिकमसँग सम्बन्धित बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका विषयमा सरकार गम्भीर रहेको उल्लेख गरे । साथै उनले सञ्चारमन्त्री तिमिल्सिनाले डेटा सेन्टर तथा डिजिटल पूर्वाधार विकासका विषयमा बहुराष्ट्रिय कम्पनीहरूको चासो, त्यसको सम्भावना तथा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे पनि अध्ययन भइरहेको जानकारी दिए ।