ताप्लेजुङ । जिल्लाको मैवाखोला गाउँपालिका-६ हाफाबुङमा बिहीबार बिहान आगलागी हुँदा स्थानीय रामकुमार लिम्बुको तीन तले कच्ची घर जलेर पूर्ण रूपमा नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालयले आगलागीबाट करिब १६ लाख बराबरको क्षति भएको जनाएको छ । घरको माथिल्लो कोठामा छ वर्षीया आइसा लिम्बूले लाइटर खेलाउने क्रममा अचानक आगो सल्किएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।
आगलागीको खबर मैवाखोला-६ का वडाध्यक्ष राजमान लिम्बूले गरेपछि अस्थायी प्रहरी चौकी फाकुम्बाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।