काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले व्यावसायिक वातावरणमा त्रास सिर्जना नगर्न सरकारसंग आग्रह गरेको छ । महासंघले बिहीबार एक विज्ञेप्ति जारी गरी सरकारका पछिल्ला कदमले निजी क्षेत्र र बैंकिङ क्षेत्रमा त्रासको वातावरण सिर्जना गरेको जनाएको छ ।
विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, व्यवसायी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाएको छ । महासंघले निजी क्षेत्र र बैंकिङ क्षेत्रका नेतृत्वदायी व्यक्तिहरूमाथि फौजदारी कसूरको शैलीमा धरपकड गरिँदा लगानीकर्ता तथा व्यावसायिक समुदायमा नकारात्मक सन्देश गएको उल्लेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘यस्ता गतिविधिले समग्र व्यावसायिक वातावरण प्रभावित भएको छ र लगानीकर्ताको आत्मविश्वास कमजोर बनाएको छ ।’ महासंघले बैंकका कार्यकारी अधिकृतलाई कर्जा असुली प्रक्रियासँग जोडेर पक्राउ गरिएको विषयप्रति पनि चिन्ता व्यक्त गरेको छ । निक्षेपकर्ताको विश्वासमा आधारित बैंकिङ प्रणालीमा यस्तो घटनाले बैंकिङ क्षेत्रकै साखमा असर पर्न सक्ने महासंघको भनाइ छ । साथै, यसले कर्जा प्रवाहसम्बन्धी निर्णय प्रक्रियामा असर पार्ने र लगानी संकुचन हुन सक्ने महासंघले चेतावनी दिएको छ ।
प्रारम्भिक अनुसन्धान नै नगरी सरकारले उद्योगी–व्यवसायीलाई पक्राउ गर्ने तथा ‘मिडिया ट्रायल’ गर्ने प्रवृत्ति बढेको महासंघको आरोप छ । यस्ता कार्यले सम्बन्धित व्यक्तिको मान–प्रतिष्ठामा आँच पुग्ने भन्दै महासंघले अनुसन्धान गोप्य रूपमा गर्न तथा देवानी दायित्वसँग सम्बन्धित मुद्दालाई सोही प्रकृतिअनुसार अघि बढाउन आग्रह गरेको छ । महासंघले संविधानले प्रत्याभूत गरेको सम्मानपूर्वक बाँच्न पाउने अधिकार र कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्थाको समेत स्मरण गराएको छ । महासंघले सरकारलाई यस विषयमा गम्भीर बन्न आग्रह गर्दै व्यवसायिक आत्मविश्वास बढाउने वातावरण निर्माण गर्न अपिल गरेको छ । महासंघले पछिल्ला चार वर्षदेखि शिथिल बनेको अर्थतन्त्र नयाँ सरकारको व्यवसायीमैत्री नीति र व्यवहारपछि चलायमान बन्ने अपेक्षा गरिएको उल्लेख गर्दै यस्ता घटनाले लगानी वृद्धि र लगानीकर्ताको सुरक्षाबोधमा नकारात्मक असर पार्न सक्ने उल्लेख गरेको छ ।