काठमाडौं । भारत सरकारले नेपाली उत्पादनको भारत निर्यातका लागि अनिवार्य गरेको ब्यूरो अफ इन्डियन स्टान्डर्ड (बीआईएस) लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्स जारी गर्न आनाकानी गरेको छ ।
भारतले लाइसेन्स नविकरण तथा नयाँ जारी नगरिदिँदा नेपाली उद्योगहरूको निर्यात ठप्प बनेको मोरङ उद्योग व्यापार संघले जनाएको छ । संघले बिहीबार एक विज्ञप्ति जारी गरी उक्त समस्या समाधानको लागि कुटनितिक पहल गर्न सरकारसंग माग गरेको छ । संघले उद्योग विभागका महानिर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघलाई औपचारिक पत्राचार गर्दै भारतीय पक्षले सिर्जना गरेको अवरोध तत्काल हटाउन पहल गर्न आग्रह गरेको हो । संघका अध्यक्ष अनुपम राठीले सरकारलाई तत्काल कूटनीतिक च्यानलमार्फत भारत सरकारसँग उच्चस्तरीय वार्ता गर्न माग गरेका छन् । समयमै समस्या समाधान नभए नेपाली उद्योगहरू धराशायी हुने उनको भनाइ छ । भारतीय पक्षले गरेको अवरोधले नेपाल–भारत द्विपक्षीय व्यापारमै प्रत्यक्ष असर पारेको उनले बताए । उनका अनुसार बीआईएस लाइसेन्स नवीकरण तथा नयाँ लाइसेन्स जारी नहुँदा नेपाली उद्योगहरूले भारतीय बजार गुमाउने अवस्था सिर्जना भएको छ । विशेषगरी विदेशी निर्माता प्रमाणीकरण योजनाअन्तर्गत आवेदन, निरीक्षण, परीक्षण र स्वीकृतिका चरणहरूमा स्पष्ट समयसीमा नहुँदा नेपाली उद्योगीहरू अन्योल र आर्थिक दबाबमा परेको उनले बताए । संघले हाल निर्यात प्रणाली नै अवरुद्ध भएको र नेपालका निर्यातजन्य उद्योगहरू प्रत्यक्ष आर्थिक क्षतिमा परेको जनाएको छ ।
‘भारतसँगको व्यापार घाटा कम गर्ने प्रमुख उपाय नै निर्यात सहजीकरण हो,’ संघले भनेको छ । त्यसैले यस्ता प्राविधिक अवरोधलाई प्राथमिकताका साथ समाधान गर्दै भविष्यमा दोहोरिन नदिने स्थायी संयन्त्र निर्माण गर्न आवश्यक छ ।’ संघले नेपाल सरकारलाई भारतसँग नीतिगत तहमा ठोस संवाद अघि बढाइ नेपाली उद्योगहरूको निर्यात सुरक्षाको ग्यारेन्टी गर्न समेत आग्रह गरेको छ ।