अस्ट्रेलिया, विश्वप्रसिद्ध ठूला विश्वविद्यालय सञ्चालनमा रहेको देश, उच्च गुणस्तरको शिक्षा, आर्थिक रूपमा बलियो बन्दै गएको देश, प्रकृतिलाई भरपुर उपयोग गरेको देश, स्वास्थ्य सेवालाई व्यवस्थित गरेको देश, बहुसांस्कृतिक तथा आदिवासी संस्कृति भएको देश, विभिन्न बाह्य तथा सामाजिक गतिविधिमा सक्रिय सहभागिता जनाउने नागरिक भएको लगायतका सामाजिक क्रियाकलाप गर्न र कानुनभित्र रही नागरिक स्वतन्त्रता पाएको देश, समाजलाई राम्रो सेवा दिएको देश, पूर्वाधारमा अगाडि बढिरहेको, बहुभाषिक देश, सहरी व्यवस्थापनमा राम्रो रहेको, आधुनिक प्रविधिलाई अगाडि बढाउँदै यातायातमा बस, रेलसेवा तथा सार्वजनिक यातायातलाई व्यवस्थित गरेको देश, सामाजिक समावेशिता भएको तथा जनताको जीवनस्तरमा प्रगति भएको देशमा नेपाल जस्तो विकासोन्मुख देशका विद्यार्थीले ज्ञान आर्जन गरी आफ्नै देशमा त्यो ज्ञान र सीपलाई उपयोग गर्न सकेमा नेपालको मुहार एक हदसम्म फेर्न सकिने अवस्था हुन सक्छ ।
अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको पढ्न जाने गन्तव्यमध्ये एक प्रमुख गन्तव्यको रूपमा रहेको छ । सन् २००० देखि २००६ सम्म नेपालबाट अस्ट्रेलिया जाने विद्यार्थीहरूको संख्या क्रमशः वृद्धि हुँदै गए पनि कुल मिलाएर करिब ५,००० को हाराहारीमा मात्र रहेको देखिन्छ तर सन् २००७ मा आइपुग्दा एकै वर्षमा मात्र ९,००० भन्दा बढी नेपाली विद्यार्थी अस्ट्रेलिया गएको तथ्यांकले देखाउँछ, जसले त्यस अवधिमा विद्यार्थी प्रवाहमा ठूलो वृद्धि भएको संकेत गर्दछ । सन् २००० मा ३०० जना जति मात्र विद्यार्थी जाने अस्ट्रेलियामा २०१२ पछि व्यवसायिक शिक्षा तथा तालिम क्षेत्रको रुचि पनि बढेको र सन् २०१९ मा मात्रै २५,००० भन्दा बढी नेपाली विद्यार्थी अस्ट्रेलिया गएको विभिन्न तथ्यांकहरूले देखाएको छ भने अस्ट्रेलियाको शिक्षा विभाग लगायत विभिन्न स्रोतहरूको तथ्यांक अनुसार २०२५ मा करिब ५७,००० भन्दा बढी नेपाली विद्यार्थी भर्ना भएका छन् । केही स्रोतहरूमा यो संख्या अझ बढी पनि उल्लेख गरिएको पाइन्छ । यो नयाँ गएको र पुरानो भर्ना भएको तथ्यांक हो ।
व्यवसायिक शिक्षा तथा तालिमसम्बन्धी पाठ्यक्रमको सुरुवात, निजी कलेजहरूको स्थापना, धेरै विषयमा स्थायी बसोबासको सम्भावना बढ्दै जानु, परामर्शदाताहरूको वृद्धि तथा अस्ट्रेलियाली सरकारको नेपाललाई प्रवेशाज्ञा दिने नीतिले पनि यो संख्या बढेको हो । पहिलेको सुरुवाती अवस्थामा नेपाली विद्यार्थीहरूको राम्रो समुदाय नभएको, अस्ट्रेलियामा पढ्दा के हुन्छ भन्ने ज्ञान आम विद्यार्थीमा नभएको, अङ्ग्रेजी भाषा दक्षता परीक्षा दिन झन्झट मानिने तथा धेरै शैक्षिक परामर्शदाता पनि नभएकाले विद्यार्थीहरूको प्रमुख गन्तव्यमा थिएन । तर सरकारी छात्रवृत्ति तथा कोलम्बो योजनाअन्तर्गत जाने तथा केही जानकारी पाएका विद्यार्थीमात्र उच्च शिक्षा लिन अस्ट्रेलिया जाने गर्दथे ।
विशेषतः सन् २००७ पछि व्यवसायिक शिक्षा तथा तालिमसम्बन्धी पाठ्यक्रममार्फत सस्तो तरिकाले पनि अस्ट्रेलिया जान सकिन्छ भन्ने जानकारी फैलियो । अङ्ग्रेजी परीक्षा तथा पढ्ने ठाउँ पनि सहज भयो । अस्ट्रेलियामा पढ्दै गर्दा काम गर्न पाइने तथा पढाइ सकेपछि स्थायी बसोबासको लागि आवेदन दिन पाइने सम्भावनाको जानकारी पनि भयो । साथै अस्ट्रेलियाको उपाधि अन्तर्राष्ट्रिय स्तरमै मान्यता प्राप्त भएकाले अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको प्रमुख गन्तव्य बन्न पुग्यो । सन् २०१० पछि त अस्ट्रेलिया नेपाली विद्यार्थीहरूको सबैभन्दा लोकप्रिय गन्तव्यमध्ये एक बन्यो । विशेष गरी सिड्नी, मेलबर्न, ब्रिस्बेन, एडिलेड तथा पर्थमा नेपाली समुदाय तथा विद्यार्थीहरूको संख्या उल्लेखनीय रूपमा बढ्यो । सुरुवाती अवस्थामा २००७ देखि २००९ सम्म अस्ट्रेलिया जाने विद्यार्थीहरूको संख्यामा उल्लेख्य वृद्धि भएकाले २००९ सम्म नेपाल अस्ट्रेलियाको प्रमुख स्रोत देशमध्ये एक बनेको थियो भन्ने विभिन्न तथ्यांक तथा अध्ययनहरूले देखाएका छन् ।
दोस्रो चरणमा २०१५ देखि २०१९ सम्म धेरै नेपाली विद्यार्थीहरू अस्ट्रेलिया गएको तथ्यांक छ । त्यसैले हाल अस्ट्रेलियामा हजारौं नेपाली विद्यार्थी अध्ययनरत छन् र नेपालबाट जाने विद्यार्थीहरूको संख्या हरेक वर्ष अस्ट्रेलियाली सरकारको प्रवेशाज्ञा नीति अनुसार घटबढ भइरहेको देखिन्छ ।
अस्ट्रेलियाली सरकारको प्रवेशाज्ञा निर्णयसम्बन्धी कागजपत्रमा उल्लेख भए अनुसार अस्ट्रेलियामा नेपाली विद्यार्थी प्रवेशाज्ञाका लागि योग्य हुन अस्ट्रेलियाली सरकार, गृह मामिला विभागको अनुसार विद्यार्थी प्रवेशाज्ञा तथा विद्यार्थी अभिभावक प्रवेशाज्ञा आवेदनहरूको वास्तविक विद्यार्थी आवश्यकताको मूल्यांकन गर्न मन्त्रीस्तरीय निर्देशन नम्बर १०६ लागू गरिएको छ । यो निर्देशन आप्रवासन ऐनको धारा ४९९ अनुसार जारी गरिएको हो । यसले विद्यार्थी प्रवेशाज्ञा आवेदन मूल्यांकन गर्दा ध्यान दिनुपर्ने विभिन्न पक्षहरू उल्लेख गरेको छ ।
यसको सारांश अनुसार निम्न पक्षहरूलाई ध्यानमा राखिन्छः
* आवेदकको आफ्नै देशको अवस्था — यदि आफ्नै देशमा समान पाठ्यक्रम उपलब्ध हुँदा पनि किन विदेशमा अध्ययन गर्न चाहेको हो भन्ने उचित कारण, आफ्नो देशसँगको पारिवारिक तथा सामाजिक सम्बन्ध, आर्थिक अवस्था, राजनीतिक अस्थिरता, नागरिक अशान्ति वा सैनिक सेवासम्बन्धी दायित्व आदिको मूल्यांकन गरिन्छ ।
* अस्ट्रेलियामा सम्भावित अवस्था — आवेदकलाई अस्ट्रेलियाको जीवनशैली, अध्ययन गर्न चाहेको पाठ्यक्रम तथा शिक्षण संस्थाबारे कति जानकारी छ, बसोबास तथा अध्ययनबारे कति अनुसन्धान गरेको छ भन्ने मूल्यांकन गरिन्छ ।
* भविष्यका लागि पाठ्यक्रमको महत्व — रोजिएको पाठ्यक्रम आवेदकको विगतको शिक्षा वा कामको अनुभवसँग मेल खान्छ कि छैन, उक्त पाठ्यक्रमले भविष्यमा रोजगारी वा पेशागत विकासमा कति सहयोग गर्छ भन्ने पनि हेरिन्छ ।
* आवेदकको अध्यागमन इतिहास — अस्ट्रेलिया तथा अन्य देशहरूको यात्रा इतिहास, प्रवेशाज्ञा आवेदन इतिहास, प्रवेशाज्ञा अस्वीकृति वा प्रवेशाज्ञा नियम उल्लङ्घनको अभिलेख आदि अध्ययन गरिन्छ ।
* यदि आवेदक नाबालक भएमा — अभिभावक, कानुनी संरक्षक वा जीवनसाथीको उद्देश्य तथा नियत पनि विचार गरिन्छ ।
* प्रवेशाज्ञाका सर्त पालना गर्ने उद्देश्य — आवेदकले प्रवेशाज्ञाका नियमहरू पालना गर्ने वास्तविक उद्देश्य राखेको छ कि छैन भन्ने हेरिन्छ ।
* अन्य सम्बन्धित पक्षहरू — आवेदकको अस्ट्रेलियामा बस्ने वास्तविक उद्देश्यसँग सम्बन्धित अन्य पक्षहरूलाई पनि मूल्यांकनमा समावेश गर्न सकिन्छ ।
अस्ट्रेलियासम्बन्धी परामर्शदाताको भूमिका
वास्तवमा परामर्शदाताको काम भनेको अङ्ग्रेजी भाषा दक्षता परीक्षाको जानकारी दिने र पढाउने हो, पाठ्यक्रमको बारेमा बुझाउने, कलेजको जानकारी दिने, विद्यार्थी जाने विश्वविद्यालयको बारेमा र शैक्षिक संस्था रहेको ठाउँ तथा बसोबासको बारेमा जानकारी दिने, शुल्क संरचना बुझाउने, भविष्यमा के गर्न सकिन्छ भन्ने जानकारी दिने, पेशागत परामर्श गर्ने, अस्ट्रेलियाका सामान्य नियम तथा प्रवेशाज्ञासम्बन्धी प्रक्रिया बुझाउने, विद्यार्थीको क्षमता तथा रुचि अनुसार पाठ्यक्रम सिफारिस गर्ने तथा प्रवेशाज्ञा आवेदन गर्न आवश्यक कागजातको जानकारी दिने, प्रवेशाज्ञाको सुनिश्चितता नगर्ने तर आवश्यक प्रक्रिया सबै पूरा गरेर मात्र प्रवेशाज्ञा आवेदन गरिदिने, प्रवेशाज्ञा अस्वीकृत भएको अवस्थामा के कस्तो प्रक्रिया हुन्छ, शिक्षण शुल्क फिर्ता गर्न र प्रवेशाज्ञा नलागेको अवस्थामा कति पैसा खर्च हुन्छ भन्ने जस्ता महत्वपूर्ण जानकारी दिने कार्यहरू परामर्शदाताको हुन् ।
तर ‘प्रवेशाज्ञा हामी दिलाउँछौं’, ‘अस्ट्रेलिया हामी पठाउँछौं’ र प्रवेशाज्ञा नै आफैं दिने जस्ता भनाइ र क्रियाकलाप भने कदापि गर्नु हुँदैन । बजारीकरण गर्दा पनि उक्त देशको नीति, देशको कानुनलाई पालना गरी मर्यादित तथा शिष्ट रूपको बजारीकरण गरिनु पर्दछ । विगतका दिनहरूमा केही व्यक्तिहरूको गलत प्रचार र गलत शैलीको बजारीकरणले केही हदसम्म अवस्था बिगारेको हो कि भन्ने अनुमान गर्न थालिएको छ ।
कहिलेकाहीँ अत्यन्त राम्रो विद्यार्थीहरूको समेत प्रवेशाज्ञा अस्वीकृत भएको अवस्था देखिएको छ । घर–जग्गा भएको, नियमित आम्दानी स्रोत भएको, राम्रो शैक्षिक पृष्ठभूमि भएको, वास्तविक उद्देश्य भएको भनिएको, नेपालमा उपलब्ध नभएको पाठ्यक्रम पढ्न जाने आशय भएको, पूर्ण ऋण वितरण भएको तथा एक वर्षको शिक्षण शुल्कसमेत तिरिसकेको अवस्थामा पनि प्रवेशाज्ञा अस्वीकृति आउनुले केही विद्यार्थीहरूको आशय ‘सही विद्यार्थीले समेत प्रवेशाज्ञा पाइरहेका छैनन् कि?’ भन्ने प्रश्न उठ्ने गरेको छ । तर प्रवेशाज्ञा पाउन विद्यार्थी, कलेज र अभिभावकको तर्फबाट साथै परामर्शदाताको तर्फबाट समेत सही लागे पनि अस्ट्रेलियामात्र होइन अन्य देशका प्रवेशाज्ञा अधिकारीलाई जबसम्म आवेदन गरेको विद्यार्थी सही छ, उसले पढ्न सक्छ, उसको पढाइ सकिएपछि पनि देश फर्किने निश्चित छ भन्ने विश्वास हुँदैन, तबसम्म प्रवेशाज्ञा ‘म जस्तो राम्रो छु’ भन्ने विद्यार्थीले समेत नपाउने अवस्था हुन सक्छ ।
यसले अस्ट्रेलियालाई हेर्ने दृष्टिकोणमा कहिलेकाहीँ फरक त पार्छ तर सम्बन्धित अधिकारी भने विद्यार्थीका सबै उपलब्ध गराइएका कागजातहरूमा विश्वस्त हुनैपर्छ । हामी आम मानिस वा आवेदन गर्ने सबैले आफूले अस्ट्रेलियाली सरकारको नीति र दिइएको मापदण्ड अनुसार त पक्कै सबै कागजात तयार पार्नैपर्छ र ‘म वास्तविक विद्यार्थी हुँ’ भन्ने जबसम्म देखिँदैन तबसम्म प्रवेशाज्ञा पाउन सकिँदैन । त्यसैले कुनै पनि देशले प्रवेशाज्ञा दिने वा नदिने भन्ने कुरा कसैले ‘दिऊँ’ वा “नदिऊँ” भनेर हुने विषय होइन । त्यो देशको नीति, भविष्यको योजना, आप्रवासन रणनीति तथा कुन देशलाई कस्तो प्रवेशाज्ञा नीति अपनाउने भन्ने विषयमा आधारित सरकारी निर्णय नै मुख्य हुन्छ र प्रायः देशको प्रवेशाज्ञा नीतिमा सबै सक्षम विद्यार्थीले प्रवेशाज्ञा पाउँछन् भन्ने धारणा पनि व्यक्त गरेको पाइन्छ । त्यही अनुरूप विद्यार्थीले सम्बन्धित देशमा गएर पढ्न सक्छ अर्थात् योग्यता पढाइको साथै पैसा तिर्न सक्ने पनि छ र भविष्यको योजना पनि सही छ र उसले पढ्ने सही विषय हुनुको साथै उसको नियत सफा छ भन्ने स्पष्ट हुनैपर्छ र सोही अनुरूप प्रवेशाज्ञाको निर्णय हुन्छ भनेर प्रस्तुत गर्ने गरिएको छ । साथै, कुनै पनि पढ्न चाहने विद्यार्थी कुनै पनि अराजक गतिविधिमा समेत लागेको हुनु हुँदैन र एकदम सफा र स्पष्ट हुन जरुरी छ । पढाइमा दक्ष, सही कलेजको छनोट, पैसा तिर्न सक्छु भन्ने सुनिश्चितता हुनुको साथै भविष्यको लक्ष्यसमेत स्पष्ट हुनु पर्दछ ।
कुनै पनि देशको लागि यदि विद्यार्थी योग्य नभएमा प्रवेशाज्ञा अस्वीकृति हुनु सामान्य कुरा मानिन्छ तर कुनै देशमा प्रवेशाज्ञा पाउन कस्तो प्रक्रिया छ, कति समय लाग्छ, कति महँगो छ तथा प्रक्रिया कत्तिको झन्झटिलो छ भन्ने कुराले अत्यन्त महत्व राख्दछ । प्रवेशाज्ञा नपाएको अवस्थामा प्रवेशाज्ञा शुल्क फिर्ता हुँदैन तर बीमा मा तिरेको र शिक्षण शुल्क भने फिर्ता हुन्छ । अस्ट्रेलियामा शिक्षण शुल्क सुरक्षा सेवा छ । यसले विद्यार्थीको शिक्षण शुल्क फिर्ता गर्ने सुनिश्चितता दिन्छ । यसै अनुरूप अस्ट्रेलियाको विद्यार्थी प्रवेशाज्ञा शुल्क अन्य देशहरूको तुलनामा महँगो रहेको छ, जुन हाल अष्ट्रेलियन डलर २,००० पुगेको छ । बीमाको पैसा पहिल्यै तिर्नुपर्ने, शिक्षण शुल्क, बसोबास खर्च, बीमा र यात्रा खर्चलाई ऋण वितरण गरेरै तिर्नुपर्ने, शिक्षण शुल्क तथा बीमा प्रवेशाज्ञा पाउनु पूर्व नै जम्मा गर्नुपर्ने तथा प्रवेशाज्ञा निर्णय आउन कहिलेकाहीँ केही महिना समय लाग्ने भएकाले प्रवेशाज्ञा अस्वीकृत भएको अवस्थामा विद्यार्थी तथा अभिभावकलाई लाखौं रुपैयाँ आर्थिक भार परेको पनि देखिएको छ र समयको बर्बादी हुनुका साथै विद्यार्थी मानसिक रूपमा समेत दबाबमा पर्ने अवस्था देखिन्छ । यी सम्पूर्ण कुराहरूको जानकारी पाएर र आफूलाई सबै कुराहरूको मंजुरी भएरमात्र वा सम्पूर्ण पूर्ववत् रूपमा जानकारी लिएर मात्र प्रवेशाज्ञा प्रक्रिया अगाडि बढाउनु पर्दछ ।
आम मानिसको धारणामा यदि प्रवेशाज्ञा स्वीकृत भएपछि मात्र शिक्षण शुल्क तथा बीमा भुक्तानी गर्ने व्यवस्था हुने हो भने विद्यार्थी तथा अभिभावकलाई अनावश्यक आर्थिक नोक्सानी तथा झन्झट कम हुन सक्छ भन्ने पनि धारणा पाइन्छ तर जुन देशमा हामी आवेदन गर्छौं त्यो देशको प्रवेशाज्ञासम्बन्धी नियम र कानुन र नीति भने मान्नैपर्छ । कुनै निश्चित व्यक्तिलाई भनेर कुनै पनि राष्ट्रले आप्रवासन नीति बनाउँदैन ।
विद्यार्थीले के बुझ्न जरुरी छ ?
अस्ट्रेलियाली सरकारको विद्यार्थी प्रवेशाज्ञा नीति अनुसार आफूलाई तयार गर्नु आजको समयमा बुद्धिमानी देखिन्छ । अस्ट्रेलियामात्र होइन, कुनै पनि देशमा पढ्न जान चाहने विद्यार्थीहरूले ‘प्रवेशाज्ञा पक्कै आउँछ’ भन्ने सुनिश्चितता हुँदैन भन्ने कुरा बुझ्न आवश्यक छ । सही पाठ्यक्रम छनोट गर्ने, सही तथा जिम्मेवार परामर्शदाताबाट जानकारी लिने, आफूले पढ्न चाहेको कलेज तथा विश्वविद्यालयको बारेमा आफैंले पनि अध्ययन गर्ने, त्यो आफ्नो लागि उपयुक्त छ कि छैन भन्ने निष्कर्ष निकाल्ने, आफूले पढ्न चाहेको विषयमा स्पष्ट हुने, किन पढ्न जाने, कति खर्च लाग्ने तथा आर्थिक स्रोत के हो भन्ने बुझ्नु अत्यन्त आवश्यक छ ।
त्यसैगरी पढाइपछि सम्बन्धित देशको नीति कस्तो छ, आफूले तिरेको पैसाले कति समयसम्म पुग्छ, बाँकी शुल्क कसरी तिर्ने, प्रवेशाज्ञा अस्वीकृति भए कति आर्थिक असर पर्छ जस्ता सम्पूर्ण जानकारी लिएरमात्र अगाडि बढेमा पछि कुनै देशलाई, परामर्शदातालाई वा त्यो देशको नीतिलाई दोष दिनुपर्ने वा पछुताउनुपर्ने अवस्था कम हुन सक्छ ।
अभिभावकको भूमिका के हुन सक्छ ?
अभिभावकले पनि आफू आफ्ना बच्चालाई तिर्नुपर्ने आर्थिक भार वहन गर्न सक्छु कि सक्दिन, मसँग मेरो बच्चालाई पढाउने पैसा पूरा गर्न सक्छु कि सक्दिन, मेरो बच्चाले के सही परामर्श लिइरहेको छ भन्ने स्पष्ट अवधारणा राखेर मात्र आवेदन गराउनु पर्दछ । साथै प्रवेशाज्ञा अस्वीकृत भएको अवस्थामा के म यो सबै आर्थिक भार वहन गर्न सक्छु वा प्रवेशाज्ञा लागेको खण्डमा के म अर्को वर्षको लागि पैसा तिर्न सक्छु कि सक्दिन वा कसरी तिर्छु भन्ने स्पष्ट अवधारणा राखेर मात्र आवेदन गराउनु पर्दछ । साथै मेरो बच्चाले सही विषय, सही ठाउँ र सही विद्यालयको छनोट गरेको छ कि छैन भन्ने स्पष्ट हुनु जरुरी छ । नत्र पछि आर्थिक भार प¥यो वा मैले जानिन भनेर पछुताउनुको कुनै औचित्य रहने छैन । सोचौं, विचार गरौं, सही परामर्श लिऔं, आर्थिक पाटो सबै हेरौं, अनिमात्र आवेदन गरौं .
हाल नेपालको अर्थतन्त्र लगभग ४५–५० अर्ब डलरको आसपास रहेको अवस्थामा नेपाल सरकार तथा विभिन्न आर्थिक योजनाहरूमा आगामी वर्षहरूमा नेपाललाई १०० बिलियन डलर इकोनोमी बनाउने चर्चा भइरहेको छ । तर यस्तो बलियो अर्थतन्त्र निर्माण गर्न कृषि, उद्योग, जलविद्युत्, सूचना प्रविधि (आईटी), स्वास्थ्य सेवा, शिक्षा तथा निर्माण क्षेत्रबाट उत्पादन र आम्दानी वृद्धि गर्नुपर्ने आवश्यकता छ । यी सबै क्षेत्रमा उत्पादन वृद्धि तथा गुणस्तरीय सेवा विस्तार गर्न दक्ष जनशक्तिको ठूलो खाँचो पर्दछ ।
यस्तो अवस्थामा अस्ट्रेलिया सरकारले सञ्चालन गर्ने व्यावसायिक तथा सीपमूलक शिक्षाले पनि दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान दिन सक्छ । नेपालमै उपलब्ध नभएका वा सीमित रूपमा सञ्चालन भएका विभिन्न व्यावसायिक कोर्सहरू अस्ट्रेलियामा तुलनात्मक रूपमा सस्तो शुल्कमा अध्ययन गर्न सकिन्छ । केही कोर्सहरू ८–१० हजार डलरदेखि १५ हजार डलरसम्मको शुल्कमा अध्ययन गर्न सकिने भएकाले धेरै विद्यार्थीका लागि यो अवसर उपयोगी बन्न सक्छ ।
विशेषगरी कुकरी, हस्पिटालिटी, केयरगिभिङ, अटोमोबाइल, निर्माण, आईटी, कृषि प्रविधि, स्वास्थ्य सहयोगी सेवा लगायतका क्षेत्रमा अध्ययन गरेर विद्यार्थीहरूले अन्तर्राष्ट्रिय स्तरको सीप र अनुभव हासिल गर्न सक्छन् । त्यसरी प्राप्त गरेको सीप, प्रविधि तथा अनुभवलाई नेपाल फर्केर प्रयोग गर्न सके देशमा दक्ष जनशक्ति उत्पादन हुनुका साथै आधुनिक कार्यशैली र विदेशी अनुभव पनि भित्रिन सक्छ ।
यसले नेपालमा रोजगारी सिर्जना, उत्पादन वृद्धि, सेवा विस्तार तथा उद्यमशीलता विकासमा समेत सकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले अस्ट्रेलियाको शिक्षा तथा उच्च शिक्षा केवल व्यक्तिगत भविष्य निर्माणको माध्यममात्र नभई नेपालको आर्थिक विकास, उत्पादन वृद्धि र १०० बिलियन डलर इकोनोमी निर्माण गर्ने लक्ष्यमा समेत थप योगदान दिन सक्ने महत्वपूर्ण आधारका रूपमा हेर्न सकिन्छ ।