काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नेपाल इन्भेस्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेलाई स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्रीसँग सम्बन्धित विषयमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको छ । उक्त घटनापछि विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति बैंकले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
बैंकले जारी गरेको विज्ञप्तिमा प्रचलित कानुन, विशेषगरी बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा ५७ तथा सुरक्षित कारोबार ऐन, २०६३ ले दिएको अधिकारअनुसार निक्षेपकर्ताको रकमबाट प्रवाह भएको कर्जा असुली गर्नुपर्ने कानुनी दायित्वअन्तर्गत सम्पूर्ण प्रक्रिया अघि बढाइएको स्पष्ट पारेको छ । बैंकका अनुसार कर्जा असुली निर्देशिकाको पूर्ण पालना गर्दै कानुनी प्रक्रियाअनुसार नै लिलाम बिक्री गरिएको हो । बैंकले अनुसन्धानका क्रममा सम्बन्धित निकायले माग गरेका सम्पूर्ण कागजात, विवरण तथा आवश्यक सहयोग समयमै उपलब्ध गराउँदै आएको र आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
विज्ञप्तिअनुसार बैंकले मिति २०८२/०६/०३ मा स्मार्ट टेलिकम प्रालिसँग सम्बन्धित दूरसञ्चार उपकरण तथा अन्य सामग्री लिलामीको सूचना प्रकाशित गरेको थियो। सो लिलाम प्रक्रियाबाट प्राप्त कुल चार अर्ब ६० करोड रुपैयाँमध्ये चार अर्ब २२ करोड रुपैयाँ सहवित्तीयकरण अन्तर्गतको कर्जा भुक्तानीमा प्रयोग गरिएको बैंकले जनाएको छ । बाँकी रहेको ३८ करोड रुपैयाँ भने सम्बन्धित निकायबाट खाता रोक्का रहेकाले बैंकको मोनेटरी खातामा सुरक्षित राखिएको उल्लेख गरिएको छ । बैंकका अनुसार उक्त रकम दूरसञ्चार सेवा सञ्चालनसँग सम्बन्धित उपकरण जडान भएका घर–जग्गाधनीलाई स्मार्ट टेलिकमले तिर्न बाँकी घरभाडा, विद्युत् महसुललगायतका दायित्व भुक्तानीका लागि रोक्का गरिएको हो । सम्बन्धित निकायबाट प्रमाणसहित माग आएपछि सोहीअनुसार क्रमिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।
बैंकले जारी अनुसन्धान प्रक्रियाले दैनिक बैंकिङ सेवा, वित्तीय सुशासन, निक्षेपकर्ताको हित, सेयरधनीको विश्वास तथा ग्राहक सेवामा कुनै नकारात्मक असर नपर्ने दाबी गरेको छ । साथै बैंकले आफ्ना निक्षेपकर्ता, ग्राहक, सेयरधनी तथा नेपाल राष्ट्र बैंक प्रति निरन्तर सहयोग, सद्भाव र विश्वासका लागि आभार व्यक्त गरेको छ ।