काठमाडौं । कमल किशोर मालपानी समूहअन्तर्गत यशोदा फुड्स प्रालिले उत्पादन तथा बिक्री वितरण गर्दै आएको ‘करेन्ट’ र ‘लाली’ चाउचाउ अखाद्य भेटिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको प्रयोगशाला परीक्षणमा गुणस्तर मापदण्ड पूरा नभएको पुष्टि भएपछि उक्त उत्पादन तत्काल बजारबाट फिर्ता गर्न निर्देशन दिएको हो ।
विभागका अनुसार यशोदा फुड्स प्रालिद्वारा उत्पादित १०० ग्रामको ‘करेन्ट’ चाउचाउ र ५० ग्रामको ‘लाली’ चाउचाउमा सरकारले तोकेको अनिवार्य गुणस्तरअनुसार निष्कासित बोसोको अम्लीय मान मापदण्डअनुकूल नपाइएको छ । त्यसपछि विभागले ती उत्पादनको बिक्री वितरण रोक्न र बजारबाट फिर्ता लिन औपचारिक निर्देशन जारी गरेको जनाएको छ ।
यससँगै ‘करेन्ट’ ब्रान्डलाई लिएर अर्को गम्भीर प्रश्नसमेत उठेको छ । नेपालमा खाद्य पदार्थ र सुर्तीजन्य पदार्थमा एउटै नाम प्रयोग गर्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै ‘करेन्ट’ नाममा एकातर्फ चाउचाउ र अर्कोतर्फ गुट्खा उत्पादन तथा बिक्री भइरहेको विषयलाई लिएर आलोचना बढेको हो ।
सरोकारवालाहरूले एउटै ब्रान्ड नाम प्रयोग गर्दा उपभोक्तामाझ भ्रम सिर्जना हुने मात्र नभई सुर्तीजन्य पदार्थलाई खाद्य सामग्रीसँग जोडेर सामान्यीकरण गर्ने प्रयास भएको बताएका छन् । विशेषगरी बालबालिका र किशोर लक्षित बजारमा यस्तो ब्रान्ड प्रयोगले सुर्तीजन्य वस्तुको अप्रत्यक्ष प्रचारप्रसार भइरहेको भन्दै प्रश्न उठ्न थालेको छ ।
सार्वजनिक स्वास्थ्यका विज्ञहरूले खाद्य सामग्रीको आवरणमा सुर्तीजन्य ब्रान्डलाई स्थापित गर्ने अभ्यासले दीर्घकालीन रूपमा नकारात्मक सामाजिक तथा स्वास्थ्य प्रभाव पार्न सक्ने चेतावनी दिएका छन् । यस घटनापछि खाद्य गुणस्तर अनुगमन, ब्रान्ड नियमन तथा उपभोक्ता सुरक्षामाथि सरकारी निकायको प्रभावकारिताबारे समेत बहस सुरु भएको छ ।