काठमाडौं । बैकहरूले चालू आर्थिक वर्षको जेठ महिनाको लागि व्यक्तिगततर्फको निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । वैशाखमा औसतमा चार दशमलव ४२ प्रतिशत रहेको ब्याज जेठ महिनाको लागि औसत चार दशमलव ३४ प्रतिशतमा सीमित भएको हो ।
बैंकहरूले सार्वजनिक गरेको ब्याजदरसम्बन्धी विवरणअनुसार जेठ महिनाको लागि १२ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् भने बाँकीको हकमा केही तलमाथि भएको छ । जेठ महिनाको लागि सार्वजनिक भएको ब्याजदर तालिकाअनुसार सिद्धार्थ र एभरेष्ट बैंकले जेठ महिनाको लागि पनि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । सोअनुसार यी दुवै बैंकले जेठ महिनाको लागि व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर चार दशमलव शून्य पाँच प्रतिशत तोकेका छन् ।
कुमारी, स्टान्डर्ड चार्टर्ड र सिटिजन्स बैंक इन्टरनेसनलले भने जेठ महिनाको लागि क्रमशः तीन दशमलव नौ, चार र चार दशमलव एक प्रतिशत ब्याजदर कायम गरेका छन् । अघिल्लो महिनाको यी बैंकको यस्तो ब्याजदर क्रमशः चार दशमलव शून्य पाँच, चार दशमलव एक र चार दशमलव १५ प्रतिशत रहेको थियो । प्राइम र कृषि विकास बैंकले भने जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै चार दशमलव १५ प्रतिशत ब्याजदर तोकेका छन् । यस अवधिमा नेपाल एसबिआई बैंकले पनि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै जेठ महिनाको लागि चार दशमलव २५ प्रतिशत ब्याजदर तोकेको छ ।
जेठ महिनाको लागि हिमालयन बैंक र नेपाल बैंकले पनि चार दशमलव २५ प्रतिशत ब्याजदर तोकेका छन् । अघिल्लो महिना यी बैंकको यस्तो ब्याजदर चार दशमलव पाँच प्रतिशत रहेको थियो । ग्लोबल आईएमई, माछापुच्छे«, लक्ष्मी सनराइज, सानिमा र नेपाल इन्भेष्टमेन्ट बैंकले भने जेठ महिनाको लागि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै चार दशमलव पाँच प्रतिशत ब्याजदर कायम गरेका छन् । यस अवधिमा प्रभु बैंकले पनि वैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिँदै जेठ महिनाको लागि चार दशमलव ५५ प्रतिशत ब्याजदर कायम गरेको छ । नबिल र एनआईसी एसिया बैंकले पनि जेठ महिनाको लागि चार दशमलव पाँच प्रतिशत ब्याजदर तोकेका छन् । अघिल्लो महिनामा यी बैंकको व्यक्तिगत मुद्दती निक्षेपतर्फको ब्याजदर क्रमशः चार दशमलव ५५ र चार दशमलव ७५ प्रतिशत रहेको थियो । राष्ट्रिय वाणिज्य बैंक र एनएमबी बैंकले पनि जेठ महिनाको लागि क्रमशः चार दशमलव ७५ र चार दशमलव आठ प्रतिशत ब्याजदर कायम गरेका छन् । अघिल्लो महिनामा यी दुई बैंकको यस्तो ब्याजदर क्रमशः चार दशमलव ७५ र चार दशमलव नौ प्रतिशत रहेको थियो ।