स्वनामधन्य प्राडा. जयराज आचार्य, इनोसेन्ट बौद्धिक व्यक्तित्व डा. सुन्दरमणि दीक्षित र स्वघोषित सर्वज्ञाता बुद्धिजिवी पूर्व सचिव द्वारिकानाथ ढुंगेलले बालेन सरकारबारे गरेका टिप्पणी प्रतिक्रियाबाट कुरो प्रारम्भ गर्न चाहें । मेरा दृष्टिमा केदारभक्त माथेमादेखि डा. सुरेन्द्र केसीसम्म दुई सय चार सय भिसी राजदूतका दाबेदार हाम्रो जुन बौद्धिक समाज छ त्यसमा माथि उल्लिखित तिन नामले एकसरो प्रतिनिधित्व गर्छ ।
प्राडा. जयराज आचार्यले भन्नुभयो ‘अहिलेको बालेन सरकार २५ वर्ष जानुपर्छ । मुलुक सिंगापुरभन्दा विकसित बन्छ । विश्वले नयाँ लि क्वान यु पाउनेछ’ । डा. सुन्दरमणि दीक्षितले भन्नुभयो ‘बालेन सरकार भोलि नै ढल्नुपर्छ । यो गलत बाटोमा गइसक्यो । बरु हर्क साम्पाङ राम्रो मान्छे रहेछन् । बालेनले देश सिध्याउछ, हर्कले देश जोगाउछ ।’ द्वारिकानाथ ढुंगेलले भन्नुभयो ‘मलाई कता कता कोतपर्व दोहोरिन्छ कि भन्ने डर लागेको छ’ ।
यसमा मलाई तीन बौद्धिक शिरोमणिका बालेन सरकारका बारेमा माथि उल्लिखित टिप्पणीमा कुनै प्रतिक्रिया जाँगर होइन । जयराज आचार्यजी एउटा राजनीतिक वहसका चतुर प्रस्तुतकर्ता व्यक्तित्व अलिकति मनोरञ्जन लिने विगतका कांग्रेस, एमाले, माओवादीका कुकर्म परिणाम प्रति खुच्चिङ गर्नुभएको पनि हुनसक्छ । त्यसमा के टिप्पणी गर्नु । डा. सुन्दरमणि दीक्षित मँैले माथि नै भनिसकेको छु, एउटा इनोसेन्ट बौद्धिक व्यक्तित्व । उहाँको राजनीतिक बुझाइ दिमागबाट नभएर मन(भावना)बाट हुन्छ । उहाँको भावनामा कतिखेर चोट पुग्छ उफ्रि हाल्नुहुन्छ । बालेन सरकार भोलि नै ढलेपछि के ? त्यतातिर उहाँको दिमाग जान्न । प्राडा. सुरेन्द्र केसीजस्ता गफाडी राजनीतिक शास्त्रीहरूले जुन भ्रम उहाँको दिमागमा घुसाइदिएका हुन्छन् त्यसैमा भावनामा बगेर बरबराउन थाल्नुहुन्छ । त्यसमा टिप्पणीको कुनै औचित्यै भएन । द्वरिकानाथ ढुंगेलको ‘कोतपर्व’ डर आशंकामा स्वघोषित सर्वज्ञाता भनेपछि टिप्पणीको जाँगर किन गर्नु ? मैँले मुल उठाउन र पाठ्यक्रममा ल्याउन खोजेको विषय हाम्रो बौद्धिक हुर्काइको विगत दुई शताब्दीको लिगेसीलाई लिएर हो । जुन राजनीतिक विचारधारा सोच, समझ मिति नाघिसकेको औषधि डेटएक्सपायर उपाय भइसकेको छ । समाज भावनाले चल्ने भएपनि राजनीति चाहिं विचारधारा प्रणालीले मात्रै चल्न सक्छ । अन्यथा अनर्थ हुन्छ । अहिले भइरहेको त्यहि छ ।
हाम्रो राजनीतिशास्त्रको पाठ्यक्रम विगत २०० वर्षदेखि पश्चिम (बेलायत)बाट आयातित संसदीय प्रणालीको अनुशरण र अनुयायीभन्दा उता सोच, समझ, विजारोपण नै हुन पाएको छैन । जुन संसद्लाई कालमाक्र्सले ‘मोजमस्ती गरेर भुँडी पल्टाउने गफाडीहरूको वैठके क्लब’ भन्नुभएको छ । महात्मा गान्धीले ‘बाझ र बेश्या’ (व्याख्या गर्दा लामो हुन्छ) भन्नुभएको छ । डा. राममनोहर लोहियाले ’स्वतन्त्रताका नाममा उदारवादी गफ गरेर भोटको समयमा जनता ठग्ने गफाडीहरूको वैठके क्लब’ भन्नुभएको छ । यस विचारधाराको कसीमा नेपाली जनआन्दोलनका सर्वाधिक मान्य बौद्धिक जननेता बीपी कोइरालामा पनि अलिअलि स्मेल भेटिन्छ । ‘भारतमा अभ्यासरत संसदीय प्रणालीको यान्त्रिक अनुशरणबाट माथि नउठी कुनै पनि हालतमा नेपालको उन्नति र विकास सम्भव छैन’ बीपीको किटान ठहर हो ।
मार्क्स, गान्धी, लोहिया, बीपीका उल्लिखित विचारधाराको लिगेसीबाट नियाल्दा भारतको संसदीय निर्वाचनमा इन्दिर गान्धी टक्करको एक नेतृत्व हेमवती नन्दन बहुगुणाले फिल्मी हिरो अमिताभ बच्चनसँग चुनाव हारेका दृष्टान्तले बेलायत आयातित हाम्रो भेगमा अभ्यासरत संसदीय प्रणाली अर्थहिन अर्थात् देश, जनता, प्रणालीका लागि अस्थिरता, असान्ती, अवरोध, अराजकताको पर्यायवाची भइसकेको छर्लङ्ग पुष्टि र प्रमाणित हुन्छ । हेमवती नन्दन वहुगुणा टक्करको एक राजनेताले फिल्मी हिरो अमिताभ बच्चनसँग चुनाव हार्नु भनेको हामीकहाँ पूर्वप्रधानमन्त्री ०४७ को संविधानका एक नायक कृष्णप्रसाद भट्टराईले फिल्मी हिरो राजेश हमालसँग चुनाव हारेको जस्तो हो । त्यो भनेको राजनीतिमा विचार (दिमाग) हराएर भावना (मन)ले काम गर्न थालेको प्रमाण हो । मैँले माथि नै भनिसके भावनाले समाज अघि बढ्न सक्छ तर राजनीति अगाडि बढ्न विचार अनिवार्य हुन्छ । बेलायति नमूनाको भारतमा अभ्यासरत संसदीय प्रणालीको एउटा राजनेतालाई एउटा फिल्मी हिरोले चुनाव हराइदिएको वैचारिक स्खलनको त्यो उदाहरण आज झण्डै चार पाँच दशकको अन्तरालमा झांगीदै झांगीदै दक्षिण भारतको धमाकेदार फिल्मीजगतका सुपरस्टार (स्टन्टवाज) हिरो विजय थलपति केरला राज्यको मुख्यमन्त्री (नेपाल हिसाबको प्रधानमन्त्री) नै भएका छन् । अहिले एउटा थेगो समाचार नेपाल भारतमा मात्र होइन संसारभरि सामाजिक संजालमा भाइरल भइरहेको छ । नेपालका पुराना दलहरू (कांग्रेस, एमाले, माओवादी, मधेशवादी आदि इ्त्यादि)का देश लुटेरा जनतामारा, भ्रष्टाचारी, तस्कर, माफिया, विचौलियाका भरिया बनेका नेताहरूलाई ३६ वर्षको एउटा ¥यापर कलाकार बालेन शाहले घण्टी बजाइदिए भने केरलामा एउटा फिल्मी हिरोले सिटी बजाइदिए । संयोग बालेन शाहको चुनाव चिन्ह ‘घण्टी’ थलपतिको चुनव चिन्ह ‘सिटी’ । र विचार हराएर मिति नाघिसकेको औषधिमा रुपान्तरण भइसकेको चालू संसदीय प्रणालीमा उदाएका बालेन र थलपतिले आफ्नो उदयलाई सही मानेको राजनीतिक अर्थ दिन वैचारिक जग निर्माण गर्नु अपरिहार्य हुन जान्छ । थलपतिको के वैचारिक जग हुनसक्छ ? त्यो म भन्न सक्दिन । धोती लगाएर मुख्यमन्त्रीको सपथ हुने गरेको परम्परा तोडेर टाइसुट लगाएर सपथ खाएकोलाई परिवर्तनको संकेत व्याख्या गर्नु यतिखेरका वर्तमान हाम्रा अग्रणी नारी प्रतिनिधित्व मानिएका सुशीला कार्की, सपना मल्लका पत्रकार राजकुमार रेग्मीको भाषामा दुवै हातले विकनी छोपेर सडकमा नाङ्गै नृत्य प्रदर्शन गरिरहेका भन्दा फरक अर्थ राख्न सक्दैन । थलपतिको धोतीको ठाउँमा सुट लगाएका परिवर्तनको संकेत भनेको अमिताभ बच्चनकै नियती दोहोरिने पक्का छ । अरु थलपति के के काम गरेर नवजागरण थेग्ने र धान्ने वैचारिक जग हाल्दै जालान त्यो हेर्दै जाउँला । तर हाम्रा बालेन शाह समक्ष भने बने बनाया देश काल परिस्थिति अनुकूल परिपक्क र कालजयी वैचारिक जग छ ‘पृथ्वीपथ’ । राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहका दिव्य उपदेश (प्रस्तुति राष्ट्रिय विभूति शिरोमणि द्वय योगी नरहरिनाथ र इतिहासकार बाबुराम आचार्य) यदि यी दुई पात्र बालेन र थलपतिले आफ्नो राजनीतिक यात्राको वैचारिक जग निर्माण गर्न सकेनन् भने किटान ठहर पाठ्यक्रम अभिलेख गर्छु कि जस्ता प्रकारले एकसमय राजनीतिमा उदाएका फिल्मी हिरो अमिताभ बच्चनको राजनीतिसँग आज कुनै साइनो छैन त्यस्तै भविष्य बालेन र थलपतिको पनि हुने पक्का छ ।
विगत २०० वर्षदेखि एसिया अफ्रिकाका विकाशोन्मुख मुलुकहरूमा लादिएको पश्चिमा (बेलायती) नमूनाको संसद् र आतंकवाद (अमेरिकी राष्ट्रपति जर्जबुस र अन्तर्राष्ट्रियस्तरको आतंककारी नायक विन्लादेन हामीकहाँ गिरिजा र प्रचण्ड) एक सिक्काका दुई पाटा (पहिलो संस्करण वि.सं. २०६४ सालमा बजारमा आएको मेरो मोटो पुस्तक ‘फेरि यस्तो नहोस्’मा विस्तृत पाठ्यक्रम उपलब्ध छ) तथ्य प्रस्तुत गर्दा जिब्रो टोकेर तर्किने भन्दा माथिको सोच, समझ, नियतमा अझसम्म हाम्रो बौद्धिक जागरण विजारोपण भए पनि टुसाउन र फक्रिन पाएको छैन । यसमा मेरो तात्पर्य हाम्रा सारा प्राडाहरू अझै कवीलायी विरासत दास मानसिकताबाट माथि उठ्न सकेका छैनन् भन्ने होइन । समयले खोजेको माग र विचारधाराको चाप ठम्याउन असमर्थमात्र भन्न खोजेको हुँ ।
‘खबरदार बालेन बाबु’ नझुक्किनु शीर्षक यस अभिलेखमा हाम्रो वर्तमान राजनीतिक बौद्धिक विषयक यत्ति विवरण ल्याउनुको एउटै अभिष्ठ उदेश्य हो समयले मागेको खोजेको बाटो देख्न र देखाउन वर्तमान हाम्रो बौद्धिक जमात सक्षम छैन । यत्ति भनिहालौं ‘अन्तर्य निःस्वार्थ पवित्र नहुँदासम्म दूरदृष्टि प्राप्त हुन्न’ । दूरदृष्टि भएन भने सही अर्थको राजनीति सम्भव हुन्न । त्यसैले मैले भन्ने गरेको हुँ राजनेता हुनका लागि अन्तर्य निःस्वार्थ र पवित्र हुनु अपरिहार्य हो ।
यहाँनेरि मैले प्रधानमन्त्री बालेन बाबुलाई खबरदार नझुक्किनु भन्दै सतर्क गराउन खोजेको विषय हो ‘चुच्चे नक्शा’ । तेस्रो विश्वयुद्ध भएर नयाँ उलटपुलट नहुँदासम्म या नेपाल भारत सैनिक भिडन्त भएर नेपाल विजयी (असम्भव) नहुँदासम्म सन् ५० को सन्धीजस्तै महाकाली सन्धीबाट चुच्चेनक्शा (लिपुलेक, लिपियाधुरा, कालापानी) नेपालको राज्यसत्ताले भारतलाई बिक्री गरिसकेको छ । जबसम्म महाकालीसन्धीमा हस्ताक्षर गर्ने तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख रामचन्द्र पौडेल, प्रमुख प्रतिपक्षी दलको नेता माधवकुमार नेपाल, जलश्रोतमन्त्री पशुपति शमशेर जबरा, परराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीलाई देश बेचेको राष्ट्रघात अभियोगमा जेल हालेर फिरादपत्र (उजुरी) तयार नुहँदासम्म अन्तर्राष्ट्रिय अदालतले मुद्दा दर्ता नै नगर्ने पक्का छ ।
प्रधानमन्त्री बालेन शाहका विरुद्ध जनता र समाजको भावना विथोल्न (अराजकता) चुच्चेनक्शा बाहेक २१ फागुन २०८२ को चुनावमा बढारिएका दलहरूसँग यतिखेर अर्को कुनै मुद्दा छैन र यसमा मुलुकमा भए जति सबै दलीय आवद्ध बौद्धिक वर्ग उखुबारीमा स्याल कराएजस्तै पत्रकार राजकुमार रेग्मीको भाषा सापट लिँदा दुवै हातले लगौटी छोपेर नाङ्गै नृत्य प्रदर्शन गर्ने पक्का छ । त्यसैकारण यस्ता खोटो राष्ट्रवादका स्यालहुइँयामा नझुक्किन प्रधानमन्त्री बालेन बाबुलाई सहृदयी सल्लाह हो । यसको अर्थ मुद्दा बिर्सिने भनेको होइन । तत्काललाई नअलमलिनु भनेको मात्र हुँ । अस्तु ।