काठमाडौँ । काठमाडौं महानगरपालिकाले काठमाडौँका नदी किनाराबाट विस्थापित भएका सुकुम्बासी बालबालिकालाई निःशुल्क पढाउने व्यवस्था गरेको छ ।
महानगरले निजी विद्यालयहरुसंगको सहकार्यमा आवाससहितको निःशुल्क अध्ययनको व्यवस्था मिलाएको हो । महानगरका अनुसार राधास्वामी सत्संग व्यास आश्रम होल्डिङ सेन्टरमा रहेका १४ जना बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क अध्ययनका लागि विभिन्न संस्थागत विद्यालयमा पठाइएको छ । महानगरपालिका, विद्यालय र अभिभावकबीच शुक्रबार भएको त्रिपक्षीय सम्झौताअनुसार बालबालिकालाई कक्षा १० सम्म निःशुल्क होस्टेलसहित अध्ययनको व्यवस्था गरिएको हो । सम्झौतामा महानगरपालिकाका तर्फबाट शिक्षा अधिकारी नमराज ढकाल, सम्बन्धित विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीका अभिभावकले हस्ताक्षर गरेका छन् । महानगरपालिकाका अनुसार राधास्वामी होल्डिङ सेन्टरमा दर्ता भएका ६१ जना बालबालिकामध्ये पहिलो चरणमा १४ जनालाई आवासीय अध्ययनका लागि विद्यालय पठाइएको हो । ती बालबालिका आइतबारदेखि विद्यालय जान सुरु गर्नेछन् ।
महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले शिक्षामा पहुँच बालबालिकाको नैसर्गिक अधिकार भएको उल्लेख गर्दै महानगरपालिका त्यसको सुनिश्चिततामा प्रतिबद्ध रहेको बताइन् । कार्यक्रममा वडा अध्यक्ष कुश ढकालले प्रतिकूल परिस्थितिमा रहेका बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने सबै पक्षले मानवीय सेवाको काम गरेको बताए । प्याब्सन जिल्ला कार्यसमितिका अध्यक्ष गगनसिंह ऐरले यो केवल शैक्षिक कार्यक्रम नभई सामाजिक दायित्व पनि भएको उल्लेख गरे । एनप्याब्सन महानगर समितिका अध्यक्ष नवराज पाण्डेले महानगरपालिकाको समन्वयमा बालबालिकालाई गुणस्तरीय शिक्षा उपलब्ध गराइने बताए ।
महानगरपालिकाले प्याब्सनअन्तर्गत १० र एनप्याब्सनअन्तर्गत ३ विद्यालयसँग सम्झौता गरेको जनाएको छ । प्याब्सन अन्तर्गतका १० वटा विद्यालयहरुमा एन्जल हर्ट स्कुल मनमैजु, गेटवे एकेडेमी पेप्सीकोला, भ्याली पब्लिक स्कुल कपन बुढानीलकण्ठ, नेक्सस इन्टरनेसनल स्कुल पेप्सीकोला, इनोभेटिभ स्कुल शंखमुल, हेम्स स्कुल कालोपुल, केएमसी शंखमुल, केभिसी नागार्जुन, भेनस पब्लिक स्कुल जोरपाटी र सुप्रिम इन्टरनेसनल स्कुल चाबहिल रहेका छन् । यस्तै एनप्याब्सन अन्तर्गतका ३ वटा विद्यालयहरुमा प्रोग्रेसिभ सेकेन्डरी स्कुल चाबहिल, नेरिक एकेडेमी, बानेश्वर बुद्धनगर र नेसनल आइडल बोर्डिङ स्कुल मन्डिकाटार रहेको महानगरले जनाएको छ । सम्झौताअनुसार विद्यालयहरूले आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था गर्नेछन् भने महानगरपालिकाले पोशाक, झोला, स्टेसनरी तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने छ । अभिभावकहरूले पनि बालबालिकाको शैक्षिक प्रगतिबारे नियमित जानकारी लिने, विद्यालयसँग समन्वय गर्ने तथा लामो बिदाका समयमा बालबालिकालाई परिवारसँग राख्ने दायित्व पूरा गर्नुपर्ने छ ।
महानगरपालिकाले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने परिवारका बालबालिकाको शिक्षालाई व्यवस्थित र न्यायोचित बनाउन थप समन्वय र सहजीकरण जारी राख्ने जनाएको छ ।