काठमाडौँ ,सरकारले विद्युतीय चुरोट ९भेप० को आयातमा प्रतिबन्ध लगाए पनि देशका विभिन्न भन्सार नाकाबाट यसको अवैध ओसारपसार र कारोबार भने निर्बाध रूपमा भइरहेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पहलमा भेप आयातमा रोक लगाइए पनि अर्थ मन्त्रालय, वाणिज्य मन्त्रालय तथा सम्बन्धित निकायबीच स्पष्ट समन्वय नहुँदा तस्कर समूहले त्यसको फाइदा उठाइरहेको देखिएको हो ।
भन्सार कार्यालयका कर्मचारी र तस्कर व्यवसायीबीच हुने कमिशनको मिलेमतोका कारण ट्रकका ट्रक भेप नेपाल भित्रिने गरेको आरोप सीमा क्षेत्रका व्यापारीहरूले लगाएका छन् । उनीहरूका अनुसार कमिशनको ‘थैली’ नमिल्दा मात्र केही गाडी नियन्त्रणमा लिने र कमजोर मुद्दा बनाएर छाड्ने प्रवृत्ति बढ्दो छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत राष्ट्रिय सूचना, स्वास्थ्य तथा सञ्चार केन्द्रले सूर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका–२०७१ अनुसार भेप आयातमा रोक लगाउन भन्सार विभागलाई पत्राचार गरेपछि वैध आयात रोकिएको थियो । तर अवैध आयात भने झन् मौलाएको छ । स्रोतका अनुसार भेप तस्करीमा सुन तस्करीमा संलग्न गिरोहकै पहुँच रहेको आशंका गरिएको छ ।
भन्सार राजस्व दर अत्यधिक भएकाले चोरी पैठारीबाट ल्याइएको भेप बिक्री गर्दा सुनभन्दा बढी नाफा हुने सीमा क्षेत्रका व्यापारीहरूको दाबी छ । यही कारण पछिल्लो समय तातोपानी र मुस्ताङको कोरोला नाका भेप तस्करीको मुख्य ट्रान्जिट बन्दै गएको बताइन्छ ।
कोरोला नाकाबाट लाखौँको भेप बरामद
मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएको ना ५ ख ७९२१ र ना ६ ख ४८४३ नम्बरका कन्टेनर ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गर्दा लाखौँ मूल्य बराबरको भेप फेला परेको जनाइएको छ । यसअघि गत पुस २८ गते पनि सोही नाकाबाट दुई करोड २४ लाख रुपैयाँभन्दा बढी मूल्यको भेप बरामद गरिएको थियो ।
त्यसैगरी, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ गंजेखोलाबाट ५६ लाख ७० हजार रुपैयाँभन्दा बढी मूल्यका एक हजार ६२० थान भेपसहित सात जना पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय कोदारीबाट प्रहरी निरीक्षक जगतबहादुर राईको नेतृत्वमा खटिएको टोलीले जेठ १ गते राति चेकजाँचका क्रममा चीनबाट भित्र्याइँदै गरेको भेप बरामद गरेको थियो । प्रहरीले नौवटा बोराले छोपेर कार्टुनभित्र लुकाइएका भेप फेला पारेको जनाएको छ ।
प्रहरीले भोटेकोशी गाउँपालिका–४ का गणेश खड्का, हिमाल खड्का, विकास विक, रामबहादुर विक, विशाल रक्पाल, मंगलबहादुर थामी तथा बाह्रबिसे नगरपालिका–५ का कान्छा तामाङलाई पक्राउ गरेको थियो ।
रसुवा र तातोपानी तस्करीको ‘हटस्पट’
गत वर्ष भोटेकोशी नदीमा आएको बाढीले मितेरी पुल बगाएपछि रसुवा नाका लामो समय बन्द भएको थियो । त्यसपछि व्यापारिक गतिविधि अन्य नाकामा सरेसँगै तातोपानी र कोरोला नाकाबाट तस्करी तीव्र बनेको आरोप लाग्दै आएको छ ।
स्रोतका अनुसार रसुवाबाट कारोबार गर्दै आएका व्यापारीहरूको प्रभावमा भन्सार प्रमुखको सरुवा गरिएको चर्चा समेत चलेको थियो । पछिल्लो समय यी नाका अवैध सामान भित्र्याउने मुख्य मार्गका रूपमा प्रयोग भइरहेको दाबी गरिएको छ ।
व्यवसायीहरूका अनुसार भेप आयातअघि हुने ‘गोप्य सेटिङ’ अनुसार रकम बुझाइएमा गाडी सहजै पास हुने, अन्यथा नियन्त्रणमा लिएर मुद्दा चलाइने गरिएको छ ।
मुख्य अभियुक्त अझै फरार
गत पुसमा मुस्ताङबाट बरामद १९ हजार थान भेप प्रकरणमा मुख्य अभियुक्त पहिचान हुन नसकेको भन्दै सरकारी निकायको आलोचना भइरहेको छ । राजस्व अनुसन्धान विभागले गाडीधनी, चालक र कामदारमाथि मुद्दा चलाए पनि वास्तविक कारोबारीसम्म पुग्न नसकेको आरोप छ ।
यसै प्रकरणमा विभागले सिल्क ग्रुप प्रालिका अध्यक्ष रमेश शेर्पासहित १२ जनाविरुद्ध पौने दुई अर्ब रुपैयाँ जरिवाना तथा जेल सजाय माग गर्दै ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दापछि रमेश शेर्पा फरार सूचीमा छन् ।
अनुसन्धानका क्रममा गत पुस २२ गते ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित शीतलहाइटमा रहेको सिल्क ग्रुपको गोदामबाट ८६ हजार ४ सय थान भेप बरामद गरिएको थियो । विभागले बालकुमारी र नक्सालस्थित गोदामबाट कागजात तथा कम्प्युटर उपकरण समेत नियन्त्रणमा लिएको थियो ।
विभागका अनुसार सिल्क ग्रुपअन्तर्गतका विभिन्न कम्पनीमार्फत तीन लाख १६ हजारभन्दा बढी भेप चोरी पैठारी गरी स्थानीय खरिद देखाउने नक्कली कागजात तयार पारिएको थियो । साथै नक्कली कारोबार सिर्जना गरेर अवैध रूपमा भ्याट कट्टी गरी राजस्व चुहावट गरिएको दाबी गरिएको छ ।
मुख्य अभियुक्त रमेश शेर्पा र विजय शेर्पासहित १० जनाविरुद्ध हदैसम्मको जेल सजाय माग गरिएको भए पनि फरार अभियुक्तमाथि प्रभावकारी कारबाही हुन सकेको छैन । उता, उनीहरूले अन्य व्यक्तिको नाम प्रयोग गरी अवैध धन्दा निरन्तर सञ्चालन गरिरहेको आरोप समेत लागेको छ ।