काठमाडौं । इनड्राइभ विश्वको दोस्रो सबैभन्दा धेरै डाउनलोड गरिएको राइड–हेलिङ एप हुन सफल भएको छ । लीडिंग मार्केट इण्टेल्लिजेन्स फर्म सेन्सर टावरका अनुसार, इनड्राइभले लगातार चौथो वर्ष पनि आफ्नो स्थान कायम राखेको छ ।
साथै, ट्राभल विधाअन्तर्गत विश्वव्यापी रूपमा सबैभन्दा धेरै डाउनलोड हुने एपहरूको सूचीमा कम्पनी चौथो स्थानमा पुगेको छ, जुन सन् २०२४ को पाँचौँ स्थानबाट उक्लिएको हो । कम्पनीले ‘सुपर एप’ तर्फको आफ्नो रूपान्तरणलाई निरन्तर अघि बढाइरहेको छ । पियर–टु–पियर मूल्य निर्धारण मोडलमार्फत चालक र यात्रुबीच आपसी सहमतिमा उचित भाडा तय गर्न सकिने विशेषतासहितको इनड्राइभ एप आफ्नो सुरुवातदेखि हालसम्म विश्वभर ४०० मिलियनभन्दा बढी पटक डाउनलोड भइसकेको छ । हाल विश्वका एक हजार एक सयभन्दा बढी शहरहरूमा उपलब्ध यस प्लेटफर्ममार्फत विश्वव्यापी रूपमा ८ बिलियनभन्दा बढी कारोबार सम्पन्न भइसकेको सेन्सर टावरको पछिल्लो प्रतिवेदनमा उल्लेख गरिएको छ । सन् २०२५ मा इनड्राइभले आफ्नो मुख्य राइड–हेलिङ सेवाभन्दा बाहिर विस्तार गर्दै सुपर एपमा रूपान्तरण हुने प्रक्रियालाई तीव्रता दिएको छ । कम्पनीले अन्तरशहरी यातायात, कुरियर सेवा, ग्रोसरी डेलिभरी तथा वित्तीय सेवाजस्ता थप सेवाहरू सञ्चालनमा ल्याउँदै आफ्नो सेवा दायरा विस्तार गरेको हो ।
सेवाहरूको विविधीकरणमार्फत प्रयोगकर्ताहरूका दैनिक आवश्यकताहरूलाई अझ व्यापक रूपमा सम्बोधन गर्दै इनड्राइभले प्रयोगकर्ताको संलग्नता तथा प्रयोगको आवृत्ति बढाइरहेको छ । यही रणनीतिले कम्पनीको विश्वव्यापी विस्तार र निरन्तर वृद्धि यात्रालाई थप मजबुत बनाइरहेको जनाएको छ । एआई तथा एड्भान्स एनालिटिक्सलगायतका अत्याधुनिक प्रविधिहरूले यस विकासक्रमलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेलिरहेका छन् । साथै, इनड्राइभले ‘रोजाइमार्फत निष्पक्षता’ प्रति आफ्नो प्रतिबद्धतालाई कायम राख्दै मूल्य निर्धारणमा प्रयोगकर्ताको पूर्ण नियन्त्रण सुनिश्चित गरेको छ ।
सेन्सर टावरको पछिल्लो प्रतिवेदनले राइड–हेलिङ उद्योगमा ‘सुपर एप’ इकोसिस्टम प्रमुख वृद्धिको आधार बन्दै गएको देखाएको छ, विशेषगरी उदीयमान बजारहरूमा जहाँ प्रयोगकर्ताहरू विभिन्न सेवाहरूमा अझ बढी र नियमित रूपमा संलग्न भइरहेका छन् । स्थानीय बजारको आवश्यकता र प्रयोगकर्ताको अपेक्षासँग नजिक रहेर दैनिक जीवनमा उपयोगी बहु–सेवा प्लेटफर्म उपलब्ध गराउने रणनीतिका कारण इनड्राइभको निरन्तर वृद्धि भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । हाल इनड्राईभ ४८ देशहरूमा सञ्चालन भइरहेको छ ।