काठमाडौं । भारतीय प्रिमियम इलेक्ट्रिक स्कुटर ब्रान्ड ‘एम्पियर’ अब पोखरामा पनि उपलब्ध भएको छ । भारतमा उत्पादन हुने यस ब्रान्डले नेपाली बजारमा प्रवेश गरेको करिब दुई महिनापछि पोखरामा आधिकारिक रूपमा बिक्री तथा वितरण सुरु गरेको हो ।
एसटीसी अटो सोलुसन प्रालिले ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीद्वारा उत्पादित एम्पियर स्कुटरको नेपालमा बिक्रीवितरण गर्ने गरेको छ । नेपालभरसेवा विस्तार गर्ने योजनाअन्तर्गत कम्पनीले पोखराको बुद्धचोकस्थित डीएनबी ट्रेड प्रालिलाई एम्पियर स्कुटरको आधिकारिक डिलर नियुक्त गरेको छ । कम्पनीले पोखरामा ‘एम्पियर नेक्सस इएक्स’ मोडेलको बिक्री तथा वितरण सुरु गरेको जनाएको छ । ग्रिभ्स इलेक्ट्रिक मोबिलिटीले विगत १५ वर्षदेखि भारतमा इलेक्ट्रिक दुईपांग्रे सवारी उत्पादन गर्दै आएको छ । एम्पियर भारतमा अग्रणी इलेक्ट्रिक स्कुटर ब्रान्डमध्ये एकको रूपमा परिचित छ । एम्पियर स्कुटर उच्च प्रदर्शन, आकर्षक डिजाइन, स्मार्ट प्रविधि तथा विश्वस्तरीय गुणस्तरका लागि परिचित छन् । कम्पनीका अनुसार ‘एम्पियर नेक्सस इएक्स’ दैनिक प्रयोगका लागि आरामदायी, किफायती र व्यावहारिक विकल्पका रूपमा बजारमा ल्याइएको हो । एम्पियर स्कुटरमा लिथियम फेरो फस्फेट ब्याट्री प्रयोग गरिएको छ । यी स्कुटरहरू माइनस ४० डिग्री सेल्सियसदेखि ६० डिग्री सेल्सियससम्मको तापक्रममा परीक्षण गरिएका छन् ।
कम्पनीका अनुसार एलएफपी ब्याट्रीको लाइफ साइकल २,००० साइकलसम्म रहेको छ भने ब्याट्रीमा ७५ हजार किलोमिटर वा ५ वर्षसम्मको वारेन्टी उपलब्ध छ । स्कुटरमा बलियो च्यासिस, ट्विन सस्पेन्सन, स्मार्ट प्रविधि, आरामदायी राइडिङ अनुभव तथा आकर्षक फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ ।
एम्पियर नेक्सस इएक्समा ३.९ किलोवाट क्षमताको मोटर र ३ किलोवाट–घण्टा क्षमताको एलएफपी ब्याट्री जडान गरिएको छ । कम्पनीका अनुसार फुल चार्जमा स्कुटरले १३६ किलोमिटरसम्म यात्रा गर्न सक्छ । घरमै करिब ३ घण्टा ३० मिनेटमा ब्याट्री पूर्ण चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यस स्कुटरमा मिड–माउन्टेड मोटर तथा रिभर्स मोडसहित पाँचवटा राइडिङ मोड उपलब्ध छन् । साथै, एलोय ह्विल, डिस्क ब्रेक, सबै एलईडी लाइटिङ, यूएसवी चार्जर तथा कनेक्टिभिटी फिचरजस्ता आधुनिक सुविधा पनि समावेश छन् । कम्पनीले एम्पियर यसको मूल्य तीन लाख ३५ हजार रुपैयाँ निर्धारण गरेको छ ।