गुल्मी । कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह रानाको मृत्यु भएको जानकारी दिएका छन् ।
सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल आइतबार राति सडकबाट करिब तीन मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ ।
दुर्घटनामा घाइते भएका रानाको टाउको र खुट्टामा चोट लागेको थियो भने थापाको टाउकोमा चोट लागेको थियो । उपचारका क्रममा उनीहरु दुवैजनाको प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गए राति मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय जोहाङबाट प्रहरी नायब निरीक्षक नरेन्द्रबहादुर विक र इलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी निरीक्षक ज्ञानबहादुर माझीको नेतृत्वमा प्रहरी टोली दुर्घटनाको जानकारीप्राप्त हुनासाथ तत्कालै घटनास्थल पुगेर मोटरसाइकल नियन्त्रणमा लिएको जनाइएको छ । शवलाई सोमबार बिहान घटनास्थलमा मुचुल्का गरी परीक्षणका लागि गुल्मी अस्पताल तम्घास ल्याई पुर्याइएको प्रहरीले जनाएको छ ।