मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं वीरगञ्जबाट पक्राउ परेका छन् । स्रोतका अनुसार प्रसाईंलाई वीरगञ्जस्थित दियालो होटलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा प्रहरीले ‘माथिको आदेश’ आएको भन्दै उनलाई नियन्त्रणमा लिएको बताइएको छ । प्रसाईं सोमबार सिमरा विमानस्थल हुँदै वीरगञ्ज पुगेका थिए । मंगलबार वीरगञ्जमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्न उनी त्यहाँ पुगेका हुन् । वीरगञ्ज पुग्ने क्रममा उनले सिमरा विमानस्थलमै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूमाथि विभिन्न आलोचनात्मक टिप्पणी गरेका थिए । उनको अभिव्यक्तिपछि सुरक्षा निकाय सक्रिय बनेको र त्यसलगत्तै उनलाई होटलबाट नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ । प्रहरीले भने पक्राउको औपचारिक कारण सार्वजनिक गरिसकेको छैन । प्रसाईंको पक्राउपछि उनका समर्थकहरूबीच चासो बढेको छ भने सामाजिक सञ्जालमा पनि घटनाबारे व्यापक चर्चा सुरु भएको छ । अहिले उनलाई कहाँ राखिएको छ भन्ने विषयमा आधिकारिक जानकारी आउन बाँकी छ ।