देश बनाउने हुटहुटीमा काठमाडौंंको मेयर छाडेर घण्टी छिरेर चुनावी महासागरमा हेलिएका बालेन्द्र शाह ‘बालेन’ दुई तिहाइ बहुमत जितेर प्रधानमन्त्री भएपछि सर्वत्र उनकै चर्चा चुलिएको छ । त्यसमाथि पनि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भइरँदा राष्ट्रपतिको सम्बोधनलाई बहिष्कार गरेर संसद्बाट बाहिरिएपछि एक जना पूर्वपञ्चले त उनलाई बुद्धिहीन भनी टिप्पणी गर्न समेत पछि परेनन् । एक जना नक्कली माओवादीले उनको राजीनामा पनि माग गरे । जनस्तरबाट पनि सामाजिक सञ्जालभरि उनकै चर्चा छाएको छ । उनको सचिवालयका एक सदस्य असीम साहले प्रधानमन्त्रीको स्वास्थ्य समस्या आएको सूचना सम्प्रेषण गरेपछि घटनाक्रमलाई झनै रहस्यमय बनाएको छ ।
देशभित्र मात्र नभएर देशबाहिर पनि प्रधानमन्त्री बालेनको बारेमा उत्तिकै चर्चा चलिरहेको छ । छिमेकी भारतले पठाउने भनेको विदेश सचिव बिक्रम मिस्त्रीलाई उनले भेट्न नमानेपछि उनको नेपाल भ्रमण नै रद्द भइसकेको छ ।
दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरले ३० अप्रिलदेखि २ मे २०२६ सम्म नेपाल भ्रमण गर्दा प्रधानमन्त्री बालेनले उनलाई औपचारिक भेट दिएनन्, उनी घण्टीका अध्यक्ष रवि लामिछाने, परराष्ट्रमन्त्री शिशिर खनाललाई भेटेर फर्किए ।
यी घटनाका अन्र्तराष्ट्रिय क्षेत्रमा काफी मात्रामा चर्चा भएका छन् । गएको चैत १३ गते रामनवमीको दिन साइत मिलाएर बालेन प्रधानमन्त्री नियुक्त भएका थिए । धार्मिक तामझामसहित पूजापाठबीच उनको शपथग्रहण गरिएको थियो । त्यसको भोलिपल्ट उनले पशुपतिमा दाहसंस्कार गर्ने ठाउँको छेउमै रहेको राजराजेश्वरी मन्दिरमा पूजा आर्चना र साधना गरे । बालेनको सत्तारोहणलाई अमेरिकी डीपस्टेटको सत्ता भन्ने पनि चर्चा छ । डीपस्टेटको सत्तामा शक्ति साधनाको शपथ पटक्कै मिल्ने तर्क होइन । नमिले पनि त्यस्तै भएको छ । एउटा ठाउँ र एउटा क्षेत्रमा होइन, सबैतिरका जानिफकार र विश्लेषकहरूलाई बालेनको सत्ताले कुहिरोको कागजस्तै बनाएको छ । उनको सत्ताको टिप्पणी अन्धाले हात्ती छामेजस्तो भएको छ । देशी–विदेशी जे भए पनि व्यथा एउटै हो । दक्षिणी छिमिकीहरूको त एउटा टोली नै आएर अमेरिकी दूतावासमा डेलिगेसन गएको थियो । बालेन प्रधानमन्त्री नियुक्त भएलगत्तै भारतीय गुप्तचरका आशालाग्दा हाकिमहरूको त्यो डेलिगेसनले पनि त्यहाँबाट केही हात पारेजस्तो लागेन ।
उत्तरी छिमेकी त्योभन्दा त्रसित छ तर उसले बालेन के हो, को हो, के गर्छ भनेर सोध्ने ठाउँ अझै पाएको छैन । चिनियाँहरूलाई भिसा नथप्ने नीति लिन लागेको सूचनापछि उनीहरू अमेरिकन सेना आउन सक्ने चर्चा हुँदा पनि चिनियाँहरू गरुक्क परेर बसेका थिए । विभिन्न परियोजनामा कामदारका नाममा उनीहरूका सैनिक नेपाल आइसकेका थिए । तर अबचाहिँ नयाँ झड्का महसुस भएको छ । मेयरका रूपमा प्रस्तुत हुँदादेखि नै उनी कालो चस्मा र कालो पोसाकमा प्रकट भए । राजा विरेन्द्रको हाफबाउले लुगा लगाएको तस्बिर दुर्लभ मानिएजस्तै बालेन शाहको रङ्गीचङ्गी पोसाक लगाएको तस्बिर पाउन पनि मुस्किल छ । उनको मन कालोमै छ, उनी कालो पोसाक नै मन पराउँछन् । कालो रङ्ग अघोरी मतको पनि सङ्केत हो तर उनी त्यो मतावलम्बीजस्तो लाग्दैनन् । उनी कालीदेवी मतका उपासक हुन सक्छन् । भूत, प्रेत, पिचासको आरधना गरेर देवी जगाउने साधना गर्ने साधक हुन् जस्तो लाग्दछ र त्यही कारण उनी आफ्ना वरिपरि सुरक्षा गार्ड राख्दा पनि कालो पोशाकमै राखेर हिँड्दछन् । देवीको मन्दिरमा जान्छन् तिलक लगाउँछन् । उनी मेयर हुँदा नै कालो पोसाकका उनका सुरक्षाकर्मीहरूको चर्चा भएको थियो । उनमा बनाउनेभन्दा भत्काउने जोस बढी छ, प्रशंसाभन्दा आलोचना र बदलाभाव बढी देखिन्छ । यिनै चर्चा परिचर्चाका बीच बालेनको सत्ता अहिले चर्चाको शिखरमा छ ।
प्रधानमन्त्री भएपछि पनि बालेन तन्त्र साधनामा नै लिप्त रहेर तन्त्रबुटीहरू गाँजा, भाङ, धतुरो खाएर धुनी जगाएर समय बिताएर बसेका होलान् र त्यसै भएर राष्ट्रपतिको सम्बोधन बहिष्कार गरेका होलान् या सांसदहरूलाई मुख नदेखाएका होलान् भन्न सकिँदैन । विदेशीका अगाडि उभिएर बोल्नै नसक्ने भएकाले बालेनले विदेशीलाई भेट्न अस्वीकार गरेको होलान् भनेर कल्पना पनि गर्न सकिँदैन ।
बालेन एउटा अनपढ ल्वाँठ होइनन् । बालेन प्रधानमन्त्री भएपछिको सत्ताले राज्यसत्ताका जुन–जुन ठाउँमा एकै पटक जसरी हानेको छ, त्यो अहिले यहाँको राजनीतिक दल, बुद्धीजीवीहरूले चित्रित गर्न खोजेको बालेनले गर्न सक्दैन । बालेन–सत्ता अहिले चलेको चर्चाअनुसारको मात्रै पक्कै होइन । आफैँ अक्षम र नालायक भएको भए बालेन–सत्ताले अहिले ल्याएका कुनै पनि कार्यक्रम ल्याउनै सक्ने थिएन । एकै पटक टे«ड युनियन खारेज, विद्यार्थी संगठन खारेज, सुकुमबासी बस्तीमा डोजर, प्रेसमाथि निर्मम नियोजन, विपक्षीमाथि बेवास्ता, अदालतमा क्रमभङ्गता यी कुनै सनकको भरमा चालिएका कदम पक्कै होइनन्, यी त देखिएका केही उदाहरण मात्र होलान् । अहिलेको बालेन–सत्ताले धक्का नदिएको राज्यको कुन क्षेत्र बाँकी छ र ? अदालतमा न्यायपरिषद्को सिफारिसभित्रकै एउटा निर्णयले कति ठूलो असर परेको छ ? यसले कति दूरगामी असर पर्छ भन्ने त्यो भोलि थाहा हुनेछ । तर यस्ता निर्णय आफैँमा कदम नै हुन् । त्यस्ता कदम कुनै लहड, सनक वा नशामा चलिएको ठान्नु आफैँमा अपरिपक्वता हुनेछ ।
बालेन–सत्ता योजनाविहीन योजनाको सिद्धान्तमा चलेको जस्तो लाग्दैन । अर्काले लेखेर दिएको चिर्कटोअनुसार अहिले काम भएको कल्पना गर्नु पनि हाम्रो आफ्नै कमजोरी हुनेछ । हाम्रो राज्यसत्तामा विकृति नभएको ठाउँ नै मेटिँदैन, जता हे¥यो उतै बिग्रेको छ । जहाँ गए पनि खाने दाउ मात्रै छ । सबैले आफ्नै दुनो मात्र सोझ्याउने गरेका छन् । बालेन–सत्ताले त्यसलाई ‘रिफर्म’ गर्न खोजेको हुनुपर्छ ।
प्रधानमन्त्री बालेन बिग्रेका ती तमाम संस्थालाई ‘रिचार्ज’ गर्न खोजिरहेको हुनुपर्छ तर त्यो होइन रहेछ भने फेरि ‘रिह्याव’मा जानेबाहेक अर्को कुनै विकल्प देखिँदैन । रिचार्ज गरेर चलाउन खोजिएको हो भने मुर्दालाई उठाउन खोजिएजस्तो मात्रै हुनेछ । सामर्थ्यविनाको कदम कुहिनोले पहरो फुटाउन खोजेजस्तो हुनेछ । राजा ज्ञानेन्द्रले पनि यसैगरी रिचार्ज गर्न खोज्दा उनी आफैँ किनारा लाग्नु परेको यथार्थ सबैका सामु छँदैछ । अहिले सिंहदरबारमा सन्नाटा छ, राजनीतिक वृत्तमा मूर्दाशान्ति पनि छ तर भित्रभित्रै उकुसमुकुस पनि छ । जनतालाई बुझाउन पनि नसक्ने, राष्ट्रसेवकहरूलाई कजाउन पनि नसक्ने भयो भने प्रधानमन्त्री बालेनको रिफर्मको सपना तलतलको रिचार्जमा मात्र परिभाषित हुन पुग्नेछ । अहिले सिंहदरबारमा ढोका थुनेर बसेको जनताले अर्कै अर्थमा बुझ्नेछन् । त्यो दिन केही बाँकी रहनेछैन, सबै खत्तम । प्रधानमन्त्री बालेनले जर्जर अवस्थामा पुगेको राज्य व्यवस्थालाई रिफर्म गर्न खोजेका हुन्, अहिलेको सन्नाटा त्यही आँधीतुफान आउनुअघिको संकेत मात्र हो र त्यसलाई आउनुअघि नै भ्रूणहत्या गरियो भने त्यो रिफर्मको समय आउन फेरि वर्षौँ कुनुपर्ने हुन्छ ।