काठमाडौं । विष्णु अग्रवाल सञ्चालक तथा प्रबन्ध निर्देशक रहेको एमएडम्ल्यू इन्टरप्राइजेजले बिक्री गर्ने दीपल र नामी नामक कारमार्फत कर छली गर्नेगरेको हालै सार्वजनिक भएको महालेखापरीक्षकको प्रतिवेदनले औँल्याएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका अग्रवालको कम्पनीले नेपालमा आयात हुने विद्युतीय सवारीसाधनको पिक मोटर पावर कम देखाएर ठूलो मात्रामा भन्सार र अन्तःशुल्क छली गर्नेगरेको तथ्य फेला परेको महालेखाको प्रतिवेदनले उल्लेख गरेको छ ।
महालेखाको प्रतिवेदनका अनुसार अग्रवालको कम्पनी एमएडब्लूले दीपल, नामीसहित जिकर एक्स, ज्याक्व जे सिक्स, एभटर ११, एक्सपिङलगायत ब्रान्डका कारहरूमार्फत समेत अर्बौँ रुपैयाँ भन्सार छली गरेको उल्लेख छ ।
ईभी गाडी आयात गर्ने कम्पनीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहेकै अवस्थामा आयातकर्ताहरूले सवारीको वास्तविक क्षमता लुकाएर न्यून भन्सार दर कायम हुनेगरी घोषणा गर्दा राज्यले अर्बौँ रुपैयाँ राजस्व गुमाएको सो प्रतिवेदनले बताएको छ ।
महालेखाको हालै सार्वजनिक भएको प्रतिवेदनअनुसार, रसुवा र तातोपानी भन्सार कार्यालयबाट मात्रै विद्युतीय सवारीको क्षमता कम देखाएर दुई अर्ब ५० करोड ६३ लाख १६ हजार रुपैयाँ राजस्व छली भएको पाइएको छ । उक्त रकम छानबिन गरी असुलउपर गर्न महालेखाले सरकारलाई निर्देशन दिएको छ ।
भन्सार महसुल ऐन २०८१ को अनुसूची ३ अनुसार विद्युतीय सवारीको पिक मोटर पावरका आधारमा फरक–फरक करको दर तोकिएको छ । जसअनुसार ५० देखि १०० किलोवाटसम्ममा २० प्रतिशत भन्सार र १५ प्रतिशत अन्तःशुल्क, १०० देखि २०० किलोवाटसम्ममा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क, २०० देखि ३०० किलोवाटसम्ममा ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क तोकिएको छ ।