काठमाडौं । सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता सुरु गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबारबाट बचत फिर्ता गर्न सुरु गरेको हो ।
पहिलो चरणमा साना बचतकर्ताहहरुको बचत फिर्ता गरिएको छ । सोमबारमात्रै ३ वटा सहकारीका ३ सय ७८ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने कामसमेत तीव्र रूपमा भइरहेको बताइन् । उनका अनुसार समस्याग्रस्त सहकारीका ऋणहरूको नाममा सार्वजनिक भएपछि अहिले ऋणीहरूले ऋणी फिर्ता गर्न लागेका छन् । ठूला ऋणीहरुबाट ऋण असुल गरेर साना बचतकर्ताको बचत फिर्ता गरिएको हो । कान्तिपुर सहकारीका २ सय १५, शिव शिखर बहुउद्देश्यीय सहकारीका १ सय ५६ जना र पशुपति सहकारी ७ जना साना बचतकर्ताले बचत फिर्ता पाएको मन्त्री रावलले जानकारी दिइन् । पहिलो दिन थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिए पनि अब क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर फिर्ता गरिने जनाइएको छ ।
समितिका अनुसार समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताहरूको करिब ४६ अर्ब रुपैयाँ बचत फिर्ता गर्नुपर्ने छ । तीमध्ये अधिकांश साना बचतकर्ता रहेका छन् । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना बचतकर्ता र पाँच लाखभन्दा बढी रकम बचतकर्तालाई ठूला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ ।