काठमाडौं । नेपाल हस्तकला महमसंघले हस्तकला तथा सांस्कृतिक प्रदर्शनी गर्ने भएको छ । महासंघले सोमबार पत्रकार सम्मेलन गरी नेपाल ह्यान्डिक्राफ्ट् एक्स्पो एन्ड कल्चरल सो २०२६ गर्न लागेको जानकारी दिएको हो ।
जेठ ८ देखि १० गते अम्रपाली बेन्कुवेट एन्ड इभेन्ट प्रालि, बालुवाटार मेला आयोजना गर्न लागेको मेला संयोजक तथा महासंघकी उपाध्यक्ष मलिका श्रेष्ठले जानकारी दिइन् । स्थानीयस्तरमा उत्पादित हस्तकला वस्तुको प्रदर्शनी एवं प्रचारप्रसार गर्ने, रोजगारीको अवसर वृद्धि गर्ने, स्थानीय हस्तकला उद्यमीलाई बजारसँग जोड्ने, स्थानीय कला, संस्कृति र परम्परागत सीपको संरक्षण र प्रवर्द्धन गरी आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनले बताइन् । मेलाको आकर्षणको रुपमा हस्तकला प्रदर्शनी तथा बिक्री कार्यक्रम, विविध सांस्कृतिक कार्यक्रमहरु प्रदर्शन, स्थानीय उद्योगी, कलाकार÷कालिगढहरुको सीप प्रदर्शन, स्थानीय उत्पादन तथा परम्परागत परिकारहरुको स्वाद पस्कने आदि रहेको छ । मेलामा काठमाडौं उपत्यकाभित्रका जिल्लाहरुलगायत संखुवासभा, मकवानपुर, दाङ, बाजुरा, ताप्लेजुङ, चितवन, वर्दिया काभे्रपलान्भोक, कास्की, झापा, धनुषा, सुनसरी, धादिङ, तनहु, पाल्पा वाग्लुंग आदि जिल्लाबाट त्यहाँका स्थानीय जिल्ला संघहरुको सभागिता रहने महासंघले जनाएको छ ।
मेलाले स्थानीय हस्तकला उत्पादनको बजार विस्तार हुने, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित हुने, स्थानीय उद्योगी, कलाकार÷कालिगढहरुको सीप, क्षमता तथा मनोबल अभिवृद्धि हुने, मूर्त र अमूर्त कला संस्कृति एवं परम्परागत परिकारको संरक्षणमा सहयोग पुग्ने विश्वास लिइएको छ । मेलामा मेक इन नेपाल र मेड इन नेपालको अवधारणाअनुसार हस्तकला लगायत अन्य नेपाली निकासी सम्भाव्यता भएका बस्तुहरुको करिब ७० वटा जति स्टलहरु राखेर बस्तु तथा सेवा प्रदर्शन गरिने महासंघको भनाइ छ ।
महासंघका अनुसार हस्तकला क्षेत्रले लाखौँको संख्यामा स्वरोजगारको अवसर सिर्जना गरेको छ । भारत चीनलगायत तेस्रो विश्वका देशहरुमा वार्षिक २८ अर्बबराबरका विभिन्न हस्तकला वस्तुहरु निर्यात हुने गरेको महासंघको भनाइ छ । हस्तकलालाई कृषिजन्य उद्योगपछि देशभरि विस्तार गर्न सकिने ठूलो सम्भावना रहेको महासंघले जनाएको छ ।