काठमाडौं । गोथे–चेन्त्रुम काठमाडौंको नवनिर्मित भवनको औपचारिक रूपमा उद्घाटन गरिएको छ । ललितपुरको एकान्तकुनास्थित नयाँ भवनको नेपालका लागि जर्मनीका राजदूत उडो ओइगेन भोल्जले उद्घाटन गरेका हुन् ।
कार्यक्रममा राजदूत भोल्जले गोथे–चेन्त्रुमको नयाँ भवन केवल भौतिक संरचना मात्र नभई नेपाल र जर्मनीबीचको मित्रता, विश्वास र सांस्कृतिक सहकार्यको नयाँ अध्याय भएको बताए । विगत २५ वर्षदेखि संस्थाले नेपालमा जर्मन भाषा, संस्कृति तथा शैक्षिक आदान–प्रदानलाई सुदृढ बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको उनको भनाइ छ । ‘हजारौँ नेपाली विद्यार्थी, युवा तथा पेशाकर्मीले यहाँबाट जर्मन भाषा सिकेर नयाँ अवसर प्राप्त गरेका छन् । यसले दुई देशबीचको सम्बन्धलाई अझ गहिरो बनाएको छ’, उनले भने । राजदूत उडोले नयाँ भवन आधुनिक, सुरक्षित र प्रेरणादायी शैक्षिक केन्द्रका रूपमा विकसित भएको उल्लेख गर्दै आगामी दिनमा यो नेपाल र जर्मनीबीच संस्कृति, ज्ञान, विज्ञान तथा मित्रताको पुल बन्ने विश्वास व्यक्त गरे । शिक्षा, प्रविधि, संस्कृति तथा मानव विकासका क्षेत्रमा जर्मनी नेपालसँगको सहकार्यलाई अझ विस्तार गर्न प्रतिबद्ध रहेको उनले बताए ।
कार्यक्रममा संस्थाका बोर्ड अध्यक्ष ई. रमेश कुमार मास्केले गोथे–चेन्त्रुमले आधिकारिक मान्यता प्राप्त गरेको २५औं वर्षगाँठको अवसरमा नयाँ भवन उद्घाटन हुनु विशेष उपलब्धि भएको बताए । विगत साढे ६ वर्षदेखि संस्थालाई आधुनिक र सुदृढ शैक्षिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित काम गरिएको उनले जानकारी दिए । उनका अनुसार थापाथलीबाट एकान्तकुनामा सारिएको नयाँ भवनलाई आधुनिक प्रविधिबाट पुनःसंरचना (रेट्रोफिटिङ) गरी भूकम्प प्रतिरोधी बनाइएको छ । विद्यार्थी र कर्मचारीको सुरक्षालाई प्राथमिकतामा राखेर भवनलाई उच्चस्तरीय शैक्षिक गतिविधिका लागि तयार गरिएको छ । अध्यक्ष मास्केले परियोजना ‘टर्न–की कन्ट्रयाक्ट’ मोडलमा सम्पन्न गरिएको जानकारी दिए । संस्थाले आगामी दिनमा नयाँ भवनलाई ‘नेपालस्थित जर्मन हाउस’का रूपमा विकास गर्दै नेपाल–जर्मनीबीच भाषा, संस्कृति र ज्ञान आदान–प्रदानको प्रमुख केन्द्र बनाउने लक्ष्य लिएको जनाएको छ । संस्थाका अनुसार प्रत्येक वर्ष करिब छ हजार नेपालीलाई जर्मन भाषा सिकाइनेछ । साथै जर्मनीको प्रविधि, विकास अभ्यास र सांस्कृतिक अनुभवबारे नेपालीलाई जानकारी गराउँदै त्यसबाट नेपालको विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास लिइएको छ ।