वासिङटन । कंगो लोकतान्त्रिक गणतन्त्रमा तीव्र रूपमा फैलिएको घातक इबोला सङ्क्रमणले अन्तर्राष्ट्रिय चिन्ता बढाएपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले आइतबार ‘विश्वव्यापी सार्वजनिक स्वास्थ्य संकटकाल’ घोषणा गरेको छ । हालसम्म ८० भन्दा बढीको ज्यान लिइसकेको यो प्रकोप सीमापार फैलिन सक्ने जोखिम बढ्दै जाँदा विश्व स्वास्थ्य क्षेत्र पुनः उच्च सतर्कतामा पुगेको हो ।
अझ चिन्ताजनक पक्ष, फैलिएको ‘बुन्डिबुग्यो’ प्रकारको इबोलाविरुद्ध अहिलेसम्म कुनै प्रभावकारी खोप उपलब्ध छैन । रुवान्डा समर्थित एम२३ विद्रोही समूहको नियन्त्रणमा रहेको पूर्वी कंगोको प्रमुख सहर गोमामा सङ्क्रमण पुष्टि भएपछि अवस्था थप संवेदनशील बनेको छ । अत्यधिक जनघनत्व भएको गोमामा सङ्क्रमण देखिएसँगै यो प्रकोप कंगोभित्र सीमित नरही क्षेत्रीय तथा अन्तर्राष्ट्रिय संकटमा रूपान्तरण हुन सक्ने चेतावनी स्वास्थ्य निकायहरूले दिएका छन् ।
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार हालसम्म ८८ जनाको मृत्यु भइसकेको छ भने ३३६ वटा शंकास्पद सङ्क्रमणका घटना दर्ता भएका छन् । सङ्क्रमणको वास्तविक दायरा अझै स्पष्ट नभएको भन्दै अधिकारीहरूले सङ्क्रमितको संख्या अझ धेरै हुन सक्ने अनुमान गरेका छन् । कंगोको राष्ट्रिय जैविक अनुसन्धान संस्थानका निर्देशक प्राध्यापक जीन–ज्याक मुयेम्बेले एएफपीसँग कुरा गर्दै गोमामा एउटा सङ्क्रमण पुष्टि भएको जानकारी दिए ।